महाशिला गाउँपालिकाको निर्णय : विपन्न विद्यार्थीलाई वार्षिक एक लाखसम्मको अनुदान

हिमाल प्रेस २९ फागुन २०८१ १३:१३ | Thursday, March 13, 2025
महाशिला गाउँपालिकाको निर्णय : विपन्न विद्यार्थीलाई वार्षिक एक लाखसम्मको अनुदान

पर्वत- सरकारले माध्यमिक तहसम्मको पठनपाठन निःशुल्क उपलब्ध गराउँदै आए पनि उच्च शिक्षाका लागि विद्यार्थीहरूले शुल्क तिर्नुपर्ने व्यवस्था छ। आर्थिक रूपमा सक्षम विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गरिरहेका छन् तर विपन्न परिवारका विद्यार्थीहरूले आर्थिक अभावका कारण पढाइ छाड्नुपर्ने वा विदेश पलायन हुने अवस्था सिर्जना हुँदै आएको छ। यसैलाई मध्यनजर गर्दै पर्वतको महाशिला गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई आर्थिक अनुदान उपलब्ध गराउन थालेको छ।

पालिकाले दक्ष जनशक्ति उत्पादनका लागि उच्च शिक्षा अध्ययनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरेको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयका अनुसार उच्च माध्यमिक तह, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई छुट्टाछुट्टै अनुदान प्रदान गरिनेछ। उच्च माध्यमिक तहमा गणित, विज्ञान तथा नर्सिङ अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, मेडिकल, इन्जिनियरिङ, कृषि तथा भेटेरिनरी विषयमा स्नातक अध्ययन गरिरहेका वा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई वार्षिक एक लाख रुपैयाँ उपलब्ध गराइनेछ। गणित, विज्ञान तथा नर्सिङ अध्ययन गर्ने विद्यार्थीलाई चार वर्षसम्म वार्षिक ५० हजार रुपैयाँ दिइने व्यवस्था गरिएको छ।

पालिकाले हालै एक सूचना जारी गर्दै इच्छुक विद्यार्थीहरूलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरिसकेको छ। गाउँपालिकामा कृषि, पशु, स्वास्थ्य, गणित तथा विज्ञान विषयका शिक्षकको अभाव रहेको हुँदा ती विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई वार्षिक एक लाख रुपैयाँका दरले चार वर्षसम्म अनुदान दिइनेछ। अनुदान प्राप्त विद्यार्थीहरूले अध्ययन पूरा गरेपछि कम्तीमा दुई वर्ष गाउँपालिकामा सेवा गर्नुपर्ने सर्त राखिएको छ।

महाशिला गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार्न निरन्तर पहल गर्दै आएको छ। हाल पालिकाभित्रका सबै सामुदायिक विद्यालयहरू अङ्ग्रेजी माध्यममा सञ्चालन भइरहेका छन् जसका कारण निजी विद्यालयहरू विस्थापित भएका छन्। जिल्लाका सात पालिकामध्ये निजी विद्यालय नभएको एक मात्र पालिका महाशिला रहेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताएका छन्।

प्रकाशित: २९ फागुन २०८१ १३:१३ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast