राजा आउँदैनन्, देश बचाउँदैनन्

प्रकाश राई २६ फागुन २०८१ २१:०४
64
SHARES
राजा आउँदैनन्, देश बचाउँदैनन् पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा आइतबार स्वागत गर्दै समर्थकहरू।

फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले दिएको वक्तव्यले राजावादी भनिएकाहरूमा अपरिमित उत्साह सञ्चार भएको देखिन्छ। त्यसै वक्तव्यको पृष्ठभूमिमा ज्ञानेन्द्र सपरिवार पोखराको निजी विलासको यात्रा सकेर काठमाडौँ फर्कँदा फागुन २५ गते विमानस्थलमा रमितलाग्दो र समीक्षा गर्नलायकको भीड देखियो। उपस्थित भीड पुरानै ‘राजा आऊ, देश बचाऊ’ र केही अराजक नाराबजीहरूमा मग्न थियो।

शाह राजाहरूको राज परम्परा थियो- ऋतुअनुसारको विलासी भ्रमण गर्ने, रैतीहरू उनीहरूको भोगविलासको साक्षी बस्ने र टन्न खाएको राजाहरूको अगाडि भोकै पेट भए पनि रमाइदिने। सोही परम्पराको ‘ह्यङओभर’ पूर्वराजा ज्ञानेन्द्रले बेलाबेलामा देखाउँछन्। रिट्रिटबाट फर्किएको पूर्वराजाको स्वागतमा अतिरिक्त आकांक्षासहितको झाँकी देखापर्ने स्पेस कसरी सिर्जना भयो भन्ने विषयमा खोजी गर्नु जरुरी छ।

राजा बोलाउने बहसको स्पेस

पूर्व भइसकेको राजा फेरि संवैधानिक राजाका रूपमा फर्किने सपनाको प्रचारमा अहिले धेरै ध्वनि प्रदूषण भइरहेको छ। कसैकसैले त सक्रिय राजतन्त्रका बारेमा पनि बहस गरिरहेका छन्। अनेक बान्कीमा सपना वितरण गर्न थालिएको छ। यस्तो राजनीतिक जोकरीका लागि जमिन जोहो गरिदिने काम मूलतः संघीय लोकतान्त्रिक गणतन्त्रवादी भनिएका राजनीतिक शक्तिहरूको अकर्मण्यताबाट सृष्टि भएको हो।

साथै संक्रमणकालीन समाजको विशेषताको प्रकटीकरण यस्तो भीड ऐय्याआत्थाका रूपमा पनि देखापर्न सक्छ। कति कुरा भूराजनीतिक साउतीको पनि हुन सक्छ। संघीयतापछिको नेपालमा जुन किसिमले सामाजिक रूपान्तरणको जग बनाउनुपर्थ्यो त्यो हुन सकेको छैन। राजनीतिक दलहरू सरकारमा पुग्ने खेलमा जुनसुकै हरकत गर्नतत्पर भए।

दलहरूले बितेको १० वर्ष कानुनी सीमाहरूको बलमा बिताए भने नैतिक बन्धन कमजोर बनाए। राजनीतिक दलहरूको कमजोरीले मात्रै ‘मास फ्रस्ट्रेसन’ आयो भनेर टुंगोमा पुग्न पनि अलि पर्याप्त नहोला। खासगरी विश्व समाज एक खालको संक्रमणबाट गुज्रिरहेको छ। नेपाली समाजमा यस बीचमा तीन खालको संक्रमण रह्यो। पहिलो संक्रमण वर्षौँदेखि भोगिआएको रूढिवादी प्रणाली त्यो राजनीतिक रूपमा राजतन्त्रको व्यवस्था, संस्कृतिका रूपमा ‘मेल्टिङ पट’ धारणा अर्थात् एउटै भाषाभेष धर्म आदि।

अर्थतन्त्रका हिसाबले उदारीकरणको निरन्तर संक्रमण। दोस्रो संक्रमण निस्वार्थ अन्धविश्वास (सेल्फलेस ब्लाइन्ड फेथ) को विनिर्माण र तेस्रो निरन्तर विश्वव्यापीकरणको प्रभावले उपभोक्तावादी चिन्तन सिर्जित मानकहरूमा फेरबदल हुने संक्रमण। यस्तो संक्रमणमा संस्थापन शक्तिहरूको विरुद्धमा पपुलिस्ट र कन्जरभेटिभ शक्तिहरू उदाउने गर्छन्। यसकारण यस्तो ‘स्पेस’ सिर्जना हुनुमा यो संरचनात्मक समकालीन सच्याइ पनि बुझ्नुपर्छ।

राजा नारायणहिटी आउँदैनन्

पृष्ठभूमिमा विभिन्न कारणले ज्ञानेन्द्रको पछि कथित भीड देखिए तापनि राजा भएर नारायणहिटी फर्कने कुरा असम्भव छ। यसलाई अलि गहिराइमा गएर हेर्न सकिन्छ। साथै यसलाई ऐतिहासिक सन्दर्भ र विश्व परिप्रेक्ष्यमा समेतबाट हेर्नु जायज हुन्छ।

विश्व परिस्थिति र नेपाल

आजको विश्व विश्वग्रामको परिस्थितिमा छ। दुनियाँ विश्व प्रणालीमा अभ्यस्त भइरहेको छ। दुनियाँको ‘स्ट्राटा’ विश्वव्यापी रूपमा हेर्न थालिएको छ। यसअगाडि पुरानो व्यवस्था जुन राजतन्त्रात्मक व्यवस्थाले प्रतिस्पर्धालाई संकुचित गर्छ। आजको प्रतिस्पर्धाको विश्व व्यवस्थामा वंशप्रणाली नेपालमा स्थापना गर्ने कुरा विश्वको चासोमा पनि पर्दैन। त्यसैले विश्व दृष्टिकोणबाट हेर्दा राजा पुनः बहाली हुने कुरा असम्भव छ।

आजको मान्छे कतिपय प्रसंगमा नाराजुलुसमा उत्रिए पनि भित्री मनोकांक्षा संसारको एउटा शक्तिशाली उपभोक्ता हुने अभिप्रायमा लिप्त छ। त्यसकारण उपभोक्ता हुनका लागि नेता भएकाहरूको पछाडि राजा बोलाउन कति समय टिकेर लाग्ला भन्ने प्रश्न सिर्जना हुन्छ। इङ्ग्ल्यान्डमा सन् १६६० मा राजा चार्ल्स तृतीयलाई पुनः गद्दीमा बहाली गरिएको उदाहरण आजको विश्व परिस्थितिमा सान्दर्भिक हुँदैन।

नेपाल एकीकरणको बल्झिँदो घाउ

इतिहास बित्दै गएपछि त्यसको तथ्यहरूको सार्वजनीकरण र ‘अनफोल्ड हुँदै जान्छ। शाह शासकहरूले सबैभन्दा बढी धन्यवाद पाउने तथ्यका रूपमा नेपाल एकीकरणको गौरव हो। भौगोलिक एकीकरणका क्रममा  भएका निर्मम मारपिट र पाशविक आक्रमणको सम्झना र समीक्षाले पनि शाह राजाहरूप्रति घृणा बढ्दो छ। त्यति धेरै मारपिट नगरी राज्य एकीकरण गरेको भए हाम्रा पुर्खाहरूले त्यो सास्ती पाउँदैन थिए भन्ने मतले पनि शाह राजाहरूका पक्षमा जनमत कमजोर छ।

भौगोलिक एकीकरणसँगै संस्कृति, भाषा, दर्शनहरूलाई दबाइयो। शासन सञ्चालन गर्न चार जात ३६ वर्णको सूत्रमा जातीय विभेदको औजारबाट नियन्त्रण गरेको रहस्यको ज्ञानबाहिर आउँदै गएपछि इतिहास पढिने कुरामा नयाँ आयाम थपिँदै गएको देखिन्छ। तथ्य पर्गेल्दा करिब ७३ प्रतिशत जनता आजको उपस्थितिमा जातीय हाइरार्कीबाट प्रताडित भएको देखिन्छ।

हिन्दु धर्मको बलको कुरा पनि अस्त्र बन्न सक्दैन। किनभने हिन्दु धर्मलाई सबभन्दा बढी शाह राजाहरूले बढी प्रयोग गरे। शोषक र शासित वर्ग जन्माउने हतियार एकीकरणसँगै बनाए। तसर्थ राजा जोगाउन धर्मको अस्त्रको कुरा गर्दा धर्मको हतियारलाई वर्गको हतियारले निस्तेज गर्दछ। यो तथ्यले पनि राजसंस्थाको वकालत गर्दै जाँदा निर्णायक विन्दुमा जनमत राजा पुनःबहाली गराउने पक्षमा रहँदैन।

खाँटी राजावादी शक्तिको शून्यता

राजा आऊ देश बचाऊ भन्दैमा राजावादी हुने हुल र सक्कली राजावादी हुने कथित प्रतिस्पर्धा देखिए पनि ती शक्तिहरूको चरित्र विश्लेषण गर्ने हो भने घोचेर देखाउन मिल्ने शक्ति देखिँदैन। राप्रपा, राप्रपा नेपाल आफूलाई खास राजावादी शक्तिका रूपमा दावा गर्छन्। तर यिनीहरू सत्ता र शक्तिका लागि संसद्मा जुनसुकै दलसँग साठगाँठ गर्न सक्रिय हुन्छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयम् दुवै पटक कम्युनिस्ट पार्टी जो जन्मजात राजतन्त्रविरोधी हुन्छन्, उसैको भोटको बलमा जितेर सांसद मात्रै हैन उपप्रधानमन्त्री पनि खाइभ्याए। राप्रपा नेपालका अध्यक्ष कमल थापाले त राजतन्त्र त्यागेको घोषणा गरे।

प्रदेशको संरचना खारेजको माग गर्ने राप्रपा प्रदेशको सभासद् हुने सभामुख हुने कुरामा मरिहत्ते देखिन्छ। यो भद्दा राजनीतिक आडम्बरबाहेक केही हैन। राप्रपा जस्ता पञ्चायतको विरासतबाट आएका शक्तिहरूको हालत यस्तो छ। अरू टुप्पोबाट पलाएका राजावादीहरूको इरादा राजाको नाममा हल्ला गर्नेबाहेक जनआक्रोशलाई आफ्नो शक्ति निर्माणको मेसिन बनाउन सकिन्छ कि भन्ने मनसुवाबहेक केही देखिँदैन। २००७ साल फागुन ४ गते भागको राजा फर्कँदा जनताले गरेको स्वागतको मृगतृष्णा इतिहासको सम्झना मात्रै हो।

इतिहासमा ‘निश्वार्थ अन्धविश्वास-सेल्फलेस ब्लाइन्ड फेथ’ राजाको खास राजावादी शक्ति थियो। खासगरी २०६२/२०६३ को आन्दोलनको बलमा सो विनिर्माणमा गयो। त्यसकारण राजाका पक्षमा खास शक्ति छैन।

राजाहरूको अविश्वसनीय र शंकास्पद छवि

राजाको डायनेस्टी बचाउन जनताले निःश्वार्थ सहयोग गरेको देखिन्छ। शाहवंश राजाहरूको भोगविलासको अन्तविरोधको कारणले गर्दा राणाले हातमा शासन लिएपछि शाह राजाहरू राणाको निरंकुशताबाट बाहिर आउन १०३ वर्षको लामो समयको प्रतीक्षा गर्नुप¥यो। त्यो जन्जिरबाट बाहिर आउनका लागि अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल र घरेलु परिस्थिति जनता शक्तशाली हुँदै गएको अवस्थामा आउनुपर्ने भयो।

भारत भागेका राजा त्रिभुवन प्रजातन्त्र स्थापनाको सुनिश्चितासँगै नेपाल फर्कँदा जनताले गरेको स्वागत इतिहासमा उल्लेखनीय छ। जनताको छोराहरूको सहादतबाट राजाले समेत रमाउन बोल्न पाउने प्रजातन्त्र स्थापना भयो। जनताको त्यागको गुन तिरेर शाहवंश राजाहरू अभिभावक भएर बस्नुपरेमा विभिन्न सक्रिय भूमिकाको खोजी गर्दै २०१७ साल पुस १ गते आफ्नै मुक्तिसमेतका लागि लडेका सहकर्मीहरूलाई थुनेर सक्रिय शासनमा फर्किए।

२०४६ सालको आन्दोलनको बलमा संवैधानिक राजतन्त्रमा थात लिएको राजतन्त्रभित्र सक्रिय राजतन्त्रको आकांक्षा सधैँ रह्यो। त्यसैको परिणाम २०५८ सालको दरबार हत्यकाण्डलाई इतिहासमा शंकाको सुविधासहित हेरिन्छ। दरबार हत्याकाण्डबाट दुईवटा तथ्यहरूको उजागर भयो। पहिलो तथ्य दरबार आफ्नै सदस्यहरूलाई पनि सुरक्षा गर्न सक्दैन। दोस्रो तथ्य सक्रिय राजतन्त्रका लागि जारी अन्तरविरोधको प्रस्फुटन थियो, तत्कालीन दरबार हत्याकाण्ड। दरबार हत्यकाण्डपछि राजतन्त्र सक्रिय राजतन्त्रमा परिणत भयो। यसको अर्थ जतिसुकै अभिभावकको अभिलासा र संवैधानिक राजतन्त्रको पक्षपाती भएको गफ गरे पनि शाह राजाहरू कहिल्यै संवैधानिक राजतन्त्रका पक्षमा देखिएनन्।

तथ्यांकमा राजतन्त्रको अनुहार

राजतन्त्रको कुरा तथ्यांकमा हेर्दा राजावादीहरूले राजा बोलाउन गरेको अपिल स्वतः असफल हुन्छ। राजपरिवारका सदस्यले जन्मँदै पाउने अथाह सेवासुविधा भोगविलासका लागि राज्य कोषको चरम दुरुपयोग तथ्यांक खोजेर हेर्दा हुन्छ। पञ्चायतकालमा बनेको ज्ञान शिक्षा नै थियो नेपाल विश्वको दोस्रो गरिब देश, निरपेक्ष गरिबीको रेखामुनि ४९ प्रतिशत जनता थिए।

अनि विदेशी सहयोगमा बनेको उद्योगधन्दालाई मनपरी चलाएपछि त्यसलाई बिक्री गरेर निजीकरणको सम्झौता गर्दै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको निर्देशनमा संरचनात्मक समायोजन परियोजना एसएपीका नाममा बेच्ने सम्झौता पञ्चायतकालको आखिरी वर्षहरूमा गरिएको हो। अनि अहिले बेचेर खाएको कुरा गरेर ताली खाएर के गर्नु? तथ्यांक यस्तो छ। एक प्रकारले देश शाहरूको निजी कम्पनी जस्तो थियो।

नेपालमा राजन्त्रको पतन मूलतः शाहवंशीय राजाहरूको प्रवृत्ति, विश्व समाजमा आएको परिवर्तन र नेपालको वर्गीय स्थिति, सांस्कृतिक सम्बन्ध र संरचनामा आएको परिवर्तन हो। अहिलेको समाजमा लोकतन्त्र संस्कृतिका रुपमा विकसित हुँदै गएको छ। यस्तो अवस्थामा कुनै वंशमा जन्मिएको आधारमा राजा हुने वा मुलुकको स्वतः प्रमुख हुने कुरा इन्कारयोग्य छ। संवैधानिक रुपमा राजतन्त्र फर्कने बाटो छैन। ज्ञानेन्द्र शाह परिवारको चरम अलोकप्रियता देखिन्छ।

राजा आएर देश बचाउने कथ्य यमराजबाट प्राणको भिख माग्नुजस्तै हो। तर गणतन्त्रको एजेन्सीका रूपमा रहेका शक्तिहरूले आफूले पुनः अवलोकन गरेनन् भने चाहिँ यस्ता शक्तिहरूले देशमा थप अस्थिरता निम्त्याउने भूमिका खेल्न सक्छन्। जुन कारणले देश जनता र समाजले अनेक सास्ती व्यहोर्नुपर्ने हुन्छ। राजा बोलाउने र फेरि राजा हुन खोज्नेहरूलाई ओठे जवाफ हैन जनतामा निश्वार्थी अन्धविश्वासको कुनै शेष बाँकी छ भने सो तप्कालाई आश्वास्त पार्ने र स्वार्थी अन्धविश्वासीहरूको खास्टो खोल्ने काममा विलम्ब गर्नु हुँदैन। इतिहासको चक्का कहिलेकहीँ पछाडि फर्किएको तितो तथ्यमा ज्ञान राख्दा कायर भइँदैन।

प्रकाशित: २६ फागुन २०८१ २१:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast