पूर्वराजाको सन्देशलाई सकारात्मक रूपमा लिन राप्रपा नेपालको आह्वान

हिमाल प्रेस १९ फागुन २०८१ १८:४५
64
SHARES
पूर्वराजाको सन्देशलाई सकारात्मक रूपमा लिन राप्रपा नेपालको आह्वान फाइल तस्बिर

काठमाडौँ- राप्रपा नेपालले पूर्वराजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देशलाई सकारात्मक रूपमा ग्रहण गर्न सबै राजनीतिक दल, बुद्धिजीवी वर्ग, आमसञ्चारमाध्यम तथा आमजनतालाई आह्वान गरेको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार काठमाडौँमा बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले दुई दशकको राजनीतिक अभ्यास, देशको वर्तमान अवस्था र जनताको भावनालाई दृष्टिगत गरी विद्यमान राजनीतिक प्रणालीमा आमूल सुधार गर्ने विषयमा गम्भीर भएर सोच्नसमेत सम्बद्ध सबैमा अनुरोध गरेको छ। ‘राष्ट्रिय सहमति हुने हो भने वर्तमान संविधानकै परिधिभित्रबाट सनातन हिन्दु अधिराज्यको मान्यतामा आधारित राज्य व्यवस्था कायम गर्न सकिनेछ। यो समयको माग र देशको आवश्यकता हो। यो धरातलीय यथार्थलाई उपेक्षा गरियो भने यो संविधानको विकल्प खोज्नसमेत जनता बाध्य हुनेछन्’, पार्टी निर्णयमा उल्लेख छ।

बैठकले देशलाई संकटबाट मुक्त तुल्याउने क्रममा आफूलाई सहयोग गर्न राजाबाट भएको आह्वानलाई आत्मसात् गर्दै समान विचारधारा भएका सबै राजावादी, हिन्दुवादी, देशभक्त र प्रजातन्त्रवादी शक्तिहरूका बीच एकता कायम गरेर राजालाई साथ र सहयोग गर्न पनि अनुरोध गरेको छ।

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन, सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न तथा संघीयता खारेज गर्न राप्रपा नेपालले सञ्चालन गर्दै आएको जनपरिचालन अभियान निरन्तर जारी राखिने भएको छ। बैठकको निर्णयमा उल्लेख छ, ‘कुनै एक राजनीतिक दल वा समूहको प्रयासबाट मात्र यो लक्ष्य प्राप्त हुन सक्दैन भन्नेबारे हामी सचेत छौँ। यसका निम्ति समान विचारधारा भएका सबैका बीच एकता र सहकार्य अनिवार्य छ।’

यसका लागि राप्रपा नेपालले समान विचारधारा भएका दल वा समूहसँग एकता र सहकार्यका निम्ति निरन्तर प्रयत्न गरिरहने भएकाे छ। हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना तथा संघीयताको खारेजीका निम्ति कुनै पनि दल वा समूहबाट गरिने संघर्षका कार्यक्रममा राप्रपा नेपालको नैतिक समर्थन रहने निर्णयमा उल्लेख छ। निर्णयमा उल्लेख छ, ‘कुनै एक पार्टी वा समुहको झण्डा वा व्यानर प्रयोग गरेर गरिने कार्यक्रममा राप्रपा नेपाल सहभागी हुने छैन। तर राष्ट्रिय झन्डा र साझा ब्यानरमा आयोजना हुने संघर्षका कार्यक्रममा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहनेछ।’

राजाको आह्वानमा वा राजा स्वयं सहभागी हुने सबै प्रकारका कार्यक्रम सफल पार्न राप्रपा नेपाल मन वचन र कर्मले प्रतिबद्ध रहने निर्णयमा उल्लेख छ।

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन, हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न, संघीयता खारेज गर्न, धर्म परिवर्तन अन्त्य गर्न, मिटरब्याज र सहकारीबाट पीडितलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा देशभित्र रोजगारीको सिर्जना गर्न राप्रपा नेपालले जनपरिचालन र जनदबाब कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस क्रममा चैत १ गते सम्पूर्ण जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयअगाडि एक घण्टा धर्ना र प्रदर्शन गरिने निर्णय राप्रपा नेपालले गरेको छ। ८ र ९ गते हेटौँडामा मध्यमाञ्चल क्षेत्र स्तरीय भेला र प्रशिक्षण,  १४ देखि १८ सम्म काठमाडौँ उपत्यकाका १० वटै क्षेत्र र पालिका समावेश हुने गरी ‘साँखु देखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गरिने राप्रपाले जनाएको छ। यसैगरी २२ गते राष्ट्रिय सभा गृहमा संयोजित संगठन समन्वय विभागको आयोजनामा जनवर्गीय संगठनहरुको संयुक्त भेला, २६ गते काठमाडौँमा बृहत् जनप्रदर्शन गरिने कार्यतालिका राप्रपा नेपालले सार्वजिनक गरेको छ।

बैठकले नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको शीघ्र स्वास्थलाभको कामना गरेको छ। यसैषरी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फिर्ता हुने भएकाले स्वागतका निमित्त दिउँसो २:३० बजे त्रिभुवन विमानस्थल गेटअगाडि उपस्थित हुन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तक र आम जनसमुदायमा आग्रह गरिएको छ।

प्रकाशित: १९ फागुन २०८१ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast