
काठमाडौँ- नेपालको सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा शुक्रबार सुरू भएको छ। धनुषाको ठेरा कचुरी मठबाट मिथिलाविहारीको डोलासँग आएका श्रद्धालुहरू जनकपुरबाट मिथिला मध्यमा परिक्रमा सुरू गरेका हुन्।
ठेरा कचुरीस्थित मठबाट मिथिलाविहारीको डोलासँग आएका श्रद्धालुहरू बिहीबार जनकपरको हनुमानगढीमा विश्राम गरेका थिए। मथिलाको ‘महाकुम्भ’ समेत भनिने मध्यमा परिक्रमा शुक्रबारदेखि नेपाल र भारतका विभिन्न धार्मिक स्थलहरूमा पुग्ने छ।
फागुन शुक्ल औँसी तिथिका दिन ठेरा कचुरीबाट मिथिला विहारीको डोला लिएर सुरू भएको परिक्रमा बिहीबार जनकपुरस्थित रत्नसागर मन्दिर पुग्ने गर्दछ।। श्रद्धालुहरू केहीबेर त्यहाँ विश्राम गरेर जानकी मन्दिर दर्शन गर्दै हनुमानगढी पुग्छन्। राति हनुमानगढीमा विश्राम गरेर भोलिपल्ट नेपाल–भारतको पैदल धार्मिकयात्रा सुरू हुने गर्दछ। परिक्रमामा मिथिला विहारीको डोलासँगै जनकपुरस्थित अग्निकुण्डको किशोरीजीको डोलालाई समेत सहभागी गराइन्छ।
बिहीबार राति हनुमानगढीमा विश्राम गरेका श्रद्धालुहरू परिक्रमको पहिलो दिन शुक्रबार सीमावर्ती भारतको कलाणेश्वर पुगेका छन्।
मिथिला मध्यमा परिक्रमा जनकपुरको हनुमानगढी, भारतको कलाणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने छ। यसैगरी पुनः भारतको करुणा, विशौलहुँदै पुनः जनकपुर पुग्ने गर्दछ।
नेपाल तथा भारतसहित कूल १३३ किलोमिटर लामो दूरीको पैदलयात्रा जनकपुरमा एक रात विश्राम गरी फागु पुर्णिमाका दिन अन्तरगृह परिक्रमा गरी सम्पन्न हुनेछ।
मिथिला मध्यमा परिक्रमामा नेपाल तथा भारतका लाखौँ श्रद्धालु सहभागी हुने गरेकाले यसलाई मिथिलाको ‘महाकुम्भ’ समेत भन्ने गरिन्छ। १५ दिने मिथिला परिक्रमा गरेपछि पापमोक्ष हुनुका साथै मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ।