
प्रकृति तिमी हाम्रो स्मृतिमा सधैँ जीवित रहन्छौ
हामी तिमीलाई माया गछौँ र सधैँ सम्झिरहनेछौँ
रूपन्देहीको सिद्धार्थनगर–८ बैंक कलोनीस्थित घरको भित्तामा प्रकृति लम्सालका साथीहरूले लेखेका स्मृतिहरू तस्बिरसहित झुन्ड्याइएको छ। प्रकृतिका तस्बिरहरूसहितका श्रद्धाञ्जलीहरू लेखिएका सामग्री यत्रतत्र छन्। परिवार शोकाकुल छ।
बुबा सुनिल लम्साल र आमा सरिता छोरीको रहस्यमय मृत्युले मूर्छित छन्। फागुन ४ गते भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृतिको रहस्मय मृत्यु भएपछि लम्साल परिवारमा पीडा मात्रै छैन अभिभावकलाई छोरीको यादले झस्काइरहेको छ।
‘प्रकृतिलाई त गुमाएँ, तिमीहरू सुरक्षित हुनु’, सोमबार प्रकृतिका साथीहरूसँग आमा सरिता भावविह्वल हुँदै सम्झाउँदै थिइन्। सरिताको आँखामा आँसु देखेपछि प्रकृतिका साथी पनि भक्कानिए। छोरीसँगै पढेका विद्यार्थी प्रतिभा शर्मा, निर्मला राउत क्षेत्री, सुजित पंगेनी, आयुष भण्डारी, वीरबहादुर कुँवर भैरहवास्थित बैंकलोनीमा श्रद्धाञ्जली दिन आइपुगेका थिए।
यीबाहेक केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृतिका आमाबुवालाई सान्त्वना दिन आइरहेका छन्। राजनीतिज्ञ, समाजसेवीहरू घरमा पुगेर श्रदाञ्जली अर्पण गरिरहेका छन्।
परिवारमा भने छोरी गुमाउनुको पीडासँगै न्याय नपाउने हो कि भन्ने चिन्ता छ। ‘मैलै छोरी गुमाएँ, यहाँ भन्दा गुमाउनु के नै छ र?’ बुबा सुनिल लम्साल भन्छन्, ‘जसका कारण छोरीको मृत्यु भयो, दोषीलाई कारबाही होस्, मेरो छोरीको जस्तै अवस्था अरुको नहोस्।’ प्रकृतिको सोही कलेजको बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवको दुव्र्यवहारका कारण मृत्यु भएको नेपाली विद्यार्थीहरूको दाबी छ। २१ वर्षीय श्रीवास्तवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। प्रकृतिको आत्महत्या भनिए पनि परिवारले मृत्युलाई मिडियामा आएजस्तै रहस्यमय रहेको बताएका छन्।
‘दोषीका रुपमा पक्राउ परेकालाई भारत सरकारकै कानुनअनुसार कारबाही गर्नुपर्छ’, बुवा सुनिलले भने। घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउने काम भारतीय सरकारको रहेको उनको भनाइ छ।
‘कलेज प्रशासनको कमजोरी’
प्रकृतिका बुवा सुनिलका अनुसार कलेज प्रशासनको कमजोरीकै कारण छोरीको मृत्यु भएको हो। उनका अनुसार प्रकृतिले आफूमाथि पक्राउ परेका अद्विकको प्रताडाविरुद्ध कलेजमा उजुरी गरेकी थिइन्। दुई पटकसम्म उजुरी गर्दा पनि त्यहाँको इन्टरनेसनल रिलेजन अफिसरले मिलापत्र गरेर छाड्दा ठूलो घटना भएको सुनिलको भनाइ छ।
‘प्रताडना दिएको भनेर (इन्टरनेसनल रिलेसनसिप अफिसर) कोमा मिलापत्र दिइएको रहेछ। पहिलो पटक मिलापत्र गराइयो। दोस्रो पटक पनि प्रताडित गराएछ। त्यो बेलामा पनि मिलपात्र गराइएछ’, सुनिलले भने, ‘अन्तर्राष्ट्रिय कलेजले कम्तीमा पनि अभिभावकलाई खबर गर्नुपथ्र्यो, त्यो गरेन जसका कारण हामीले छोरी गुमायौँ।’ उनले कलेज प्रशासनले जानकारी गराएको भए आफूहरूले छोरीलाई नेपाल ल्याउने वा अन्य केही न केही गरेर समस्या समाधान गर्ने बताए। ‘कलेजकै लापरबाहीले छोरीको ज्यान गएको प्रस्ट छ’ भावुक हुँदै उनले भने, ‘मेरो छोरीको जस्तो अवस्था अन्य नेपाली छाराछोरीहरूको नहोस्।’
सुनिलले न्यायबाहेक आफूहरूको कुनै माग नरहेको बताए। ‘कलेजमा पुग्दा अप्रत्यक्ष रुपमा तपाईँहरूको डिमान्ड के हो भन्ने कुरा आएको थियो, तर हाम्रो डिमान्ड केही छैन। मेरो छोरीले जसको कारणले ज्यान गुमाइन्, त्यसलाई सजाय होस् हाम्रो यही हो डिमान्ड’ सुनिलले भने, ‘अब नेपाली विद्यार्थीले प्रकृतिको अवस्था नभोग्ने ग्यारेन्टी होस्।’
छोरीसँग सधैँ कुरा हुन्थ्यो : सरिता
प्रकृति डेढ महिनाअघि घर आएकी थिइन्। नेपालमै केही गर्ने सोच थियो। ‘ड्याडी नेपालमै केही गर्ने हो, इन्टर्नका लागि कुरा गर्दै गर्नू’, घटना हुनुभन्दा तीन दिनअघि सुनिललाई फोनमा छोरी प्रकृतिले भनेकी थिइन्। प्रायः आमा सरितासँग कुराकानी हुने भएकाले सुनिलसँग कम कुराकानी हुन्थ्यो। यतिसम्म कि कहिलेकाहीँ इन्टरनेट डिस्टर्ब भयो भने मामाघरमा खबर गरेर आमालाई अनलाइन आउन भनेर फोन गराउँथिन्।
घटना भएको दिन फागुन ४ गते दिउँसो ३ बजेतिर प्रकृतिसँग आमा सरिताको कुराकानी भएको थियो। कलेजमा तीन दिनसम्मको ‘किट फेस्ट’ थियो। ‘कलेजमा फेस्टिबल चलिरहेको छ, कलाकार आउँछन् मम्मी भन्दै थिइन्’, आमा सरिताले छोरीसँगको कुराकानी सम्झिइन्। भिडियोमा छोरी सुतेर उठेजस्तो देखिन्थ्यो, अबेलासम्म सुत्ने भएकाले शंका नगरेको उनले बताइन्। ‘घटना हुनुभन्दा ३ घण्टाअगाडि आमा सरितासँग कुराकानी भएको थियो। फोन गर्दै प्रकृतिले ‘फेसबुकमा फोटो राखेको छु लाइक गर्नु नि मम्मी’ भनेकी थिइन। यो बोली नै प्रकृतिको अन्तिम बन्यो’, सरिताले भनिन, ‘मैलै त छोरी गुमाएँ अन्य आमाहरूले यसरी छोरी गुमाउन नपरोस्।’
प्रकृति सानैदेखि पढाइमा अब्बल थिइन्। भैरहवा घर भए पनि व्यापारका क्रममा प्रकृतिको परिवार विगत १७ वर्षदेखि काठमाडौँ बस्दै आएको छ। प्रकृतिले कक्षा ४ सम्म भैरहवामै पढेकी हुन्। व्यापारका क्रममा काठमाडौँ गएपछि प्रकृतिले एसएलसी सामाखुसी इङलिस बोर्डिङ काठमाडौँबाट गरिन्। कक्षा १२ सम्म विज्ञान विषयमा युनिग्लोब कलेजबाट गरेकी हुन्।
१२ कक्षा सकेपछि घरसल्लाहमै उडिसास्थित केआईआईटीमा पठाइएको वुबा सुनिलले बताए। साथीभाइ र छरछिमेकीले समेत आफ्ना बच्चा त्यहाँ पढाएको र पढाइ पनि राम्रो भएकाले छोरीको उज्जवल भविष्यका लागि पढ्न पठाएको सुनिल बताउँछन्। प्रकृतिसँगै ठूलीआमाका छोरा दाइ सिद्धान्त सिग्देल, भाइ अनुरोध खनाल पनि सन् २०२२ मा उक्त विश्वविद्यालयमा भर्ना भएका थिए। सिद्धान्तले मेकानिकल र अनुरोधले प्रकृतिसँगै कम्प्युटर साइन्स अध्ययरत छन्।
विश्वविद्यालयका मुख्य सञ्चालकहरूले भेट गरे भए पनि ठोस रुपमा केही कुरा नभएको परिवारजनको भनाइ छ। प्रकृतिको हिन्दु संस्कारअनुसार काजकिरिया गरिएको छ। उनका हजुरवुबा देवनाथ लम्सालले काजक्रिरिया गरेका छन्।