माओवादीको दबाबमूलक पत्र : प्रचण्ड आउने कार्यक्रम भएकाले विद्यालय बन्द गरिदिनू!

विवेक विवश रेग्मी १२ फागुन २०८१ २१:२४
74
SHARES
माओवादीको दबाबमूलक पत्र : प्रचण्ड आउने कार्यक्रम भएकाले विद्यालय बन्द गरिदिनू!

इटहरी- नेकपा माओवादी केन्द्रको जागरण अभियान सोमबार झापामा सुरु भयो। नेपालकै सबैभन्दा होचो भूभाग कचनकवलबाट माओवादीले जागरण अभियान सुरू गरेको हो।

झण्डै एक महिने अभियानले तराई मधेशका जनतालाई पार्टीसँग जोड्ने माओवादीको तयारी छ। सोही अनुरूप सोमबार माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सहितका शीर्ष नेतृत्वहरू कचनकवलको कार्यक्रमअघि केराको पातमा खाना खाएर उपस्थित भए।

आइतबार सभाको उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकार पुँजीपतिहरूको घुस खाएर बनेको आरोप लगाए। आफू नेतृत्वको सरकारले भ्रष्टाचारको विपक्षमा कदम चालेको भए पनि वर्तमान सरकार भने भ्रष्टाचारीलाई जोगाउन लागिरहेको उनको भनाइ थियो।

खास गरी माओवादीको उक्त अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रूपमा भन्दा सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम् समस्या समाधानका लागि पहल गर्ने अभियानको रूपमा अगाडि बढाउन खोजेको उनले जनाए। सहरी क्षेत्रका जनताको मनोविज्ञान विभिन्न माध्यमबाट थाहा हुने भए पनि देशको दक्षिण र ग्रामीण क्षेत्रमा बस्ने जनताको मनोविज्ञान कस्तो छ? भनेर जान्न पनि यो अभियान महत्त्वपूर्ण हुने उनको भनाइ छ। देशको दक्षिण क्षेत्रमा बस्ने अधिकांश जनता आदिवासी र उत्पीडित समुदाय रहेको उल्लेख गर्दै उनले यो आफ्नो पार्टीले आफ्नै वर्ग समुदायमा फर्कन गरेको निर्णयको कार्यान्वयनको सुरुवात भएको जिकिर गरे।

जागरण अभियानअन्तर्गत मंगलबार (फागुन १३) गते मोरङमा कार्यक्रम हुनेछ। मोरङको कानेपोखरी गाउँपालिका ६ स्थित रमाइलोमा हुने सभामा सम्बोधन गर्न प्रचण्डसहितका नेताहरू सहभागी हुने भएपछि यहाँको पार्टी कार्यालयले विद्यालयहरूलाई पत्र काट्दै विद्यालय बन्द गरेर सहयोग गर्न दबाब दिएका छन्।

कानेपोखरी-६ रमाइलोमा तराई–मधेश जागरण अभियान अन्तर्गतको जनसभा कार्यक्रमका लागि मोरङ कानेपोखरीका चार वटा विद्यालयलाई पत्र पठाएर विद्यालय बन्द गर्न दबाब दिइएपछि अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। पार्टी गाउँ कमिटी अध्यक्ष दुर्गाबहादुर कार्कीले कानेपोखरीका बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ड हर्माेन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर फागुन १३ गते मंगलबार एक दिन विद्यालय बन्द गर्न दबाब दिएका हुन्।

‘गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व मन्त्री देव गुरुङ लगायतका नेताहरूको उपस्थितिमा कानेपोखरी ६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारी साधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरूको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भन्दै विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ,’ कार्कीद्वारा जारी पत्रमा भनिएको छ।

माओवादीले विद्यालय बन्द गर्न दबाब दिएको भन्दा पनि बालबालिकाको पढाइमा असर पर्ने भएकाले पत्र काटिएको कार्कीले प्रतिक्रिया दिए। खास गरी विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ अनुसार विद्यालय हाताभित्र र यसको वरिपरि विद्यालय सञ्चालनमा बाधा पुग्ने गरी राजनीतिक सभा, सम्मेलन, नारा, जुलुस वा विरोधका गतिविधि सञ्चालन गर्न बन्देज गर्ने व्यवस्था गरिएको छ।

झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित जागरण अभियानको चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने माओवादीले उल्लेख गरेको छ। जसअनुसार कोशी प्रदेश अन्तरगत झापामा फागुन १२ गते (आज), मोरङमा फागुन १३ गते, सुनसरीमा फागुन १५ गते अभियान सञ्चालन हुनेछ। यस्तै मधेश प्रदेशअन्तर्गत सप्तरीमा फागुन १६, सिराहामा फागुन १७, धनुषामा फागुन १८, महोत्तरीमा फागुन १९, सर्लाहीमा फागुन २१, रौतहटमा फागुन २२, बारामा फागुन २३, पर्सामा फागुन २४ गते अभियान चल्नेछ।

बागमती प्रदेशको चितवनमा फागुन २५, गण्डकी प्रदेशको नवलपुरमा फागुन २६, लुम्बिनी प्रदेशको परासीमा फागुन २७, रुपन्देहीमा २८, कपिलवस्तुमा चैत २, दाङमा चैत ३, बाँकेमा चैत ४, बर्दियामा चैत ५ गते अभियान चल्नेछ।

यस्तै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा चैत ६ गते र कञ्चनपुरमा चैत ७ गते पुगेर अभियान सम्पन्न गरिने जनाइएको छ। अभियान सकिएपछि वैशाखमा मध्य पहाडी लोक मार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुनेछ।

प्रकाशित: १२ फागुन २०८१ २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast