कृष्ण प्रणामी धर्मशाला निर्माण समितिद्वारा  धरानमा निर्मित धर्मशाला उद्घाट समाराेहमा पुगेका राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर स्रोत : शीतल निवास
                                            धरान– राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन्। राष्ट्रपति पौडेलले धरानमा निर्मित धर्मशाला उद्घाटनपछि आयोजित समारोहलाई शुक्रबार यहाँ सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
‘जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै हो, हरेक धर्म, सम्प्रदायलाई यही रुपमा बुझ्नसके यसले समाजमा सहिष्णुता बढाउन मद्दत पुग्छ भन्ने म ठान्दछु’, उनले भने। राष्ट्रपति पौडेलले हाम्रा धर्मशास्त्रले पनि सेवालाई अत्यधिक महत्त्व र प्रधानता दिएको बताए। ‘वेदव्यासले पनि अठार पुराण रचना गरिसकेपछि यही निष्कर्ष दिनुभएको छ – परोपकार पुण्याय, पापाय परपीडनम्’, पौडेलले भने।
हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने उनको भनाइ थियो। राष्ट्रपति पौडेलले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत गर्न सक्नुपर्ने पनि बताए। ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सिर्जना गर्न आवश्यक छ, आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेको छ। आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिका लागि भौँतारिहेको यही कारण हो’, राष्ट्रपति पौडेलले भने।
विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढेकाका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदा रहेको उनको भनाइ थियो। ‘यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ। यस्तो अवस्थामा नेपालमा निजानन्द सम्प्रदायले चलाएको आध्यात्मिक जागरण र मानव सेवा अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले हाम्रो वैदिक सनातन हिन्दु धर्म प्राचीनकालदेखि चलिरहेको धर्म भएको र यो धर्मको विराट स्वरूपका कारण यसअन्तर्गत विभिन्न सम्प्रदायहरूको सिर्जना हुनु स्वाभाविक मान्न सकिने पनि बताए। उनले यस धर्मशाला भवनलाई मानवीय सेवा र भावनाले अभिप्रेरित एउटा अर्कै मन्दिरको स्वरुपमा खडा भएको आफूले अनुभूति गरेको पनि उल्लेख गरे।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा जगद्गुरु श्रीकृष्णमणि महाराजलगायतले पनि शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले राधाकृष्ण मन्दिरमा आरती पनि गरेका थिए।



