नेपाललाई सात महिनामा २७ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

हिमाल प्रेस २ फागुन २०८१ १७:०५ | Friday, February 14, 2025
नेपाललाई सात महिनामा २७ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले करिब २७ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३८६ परियोजनाका लागि २६.८४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो।

माघ महिनामा मात्र ३२ परियोजनाका लागि १ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

सात महिनाको अवधिमा प्राप्त कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामध्ये १७५ परियोजनाका लागि स्वचालित प्रणालीमार्फत २ अर्ब ६२ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ भने बाँकी २११ परियोजनाका लागि परम्परागत प्रणालीमार्फत २४ अर्ब २१ करोड रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ।

यी परियोजनाहरूले कुल १० हजार ७२६ रोजगारी सिर्जना गर्ने प्रस्ताव गरेका छन्।

सेयर खरिद सम्झौता (एसपीए) र सेयर सदस्यता सम्झौता (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। त्यसैगरी विभागले ४२ उद्योगका लागि प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) स्वीकृत गरेको जनाएको छ।

उद्योग विभागका अनुसार सात महिनाको अवधिमा ३७५ साना उद्योग, ७ मझौला उद्योग र ४ ठूला उद्योगका लागि लगानी प्रतिबद्धता प्राप्त भएको छ।

प्रतिबद्धताको ६५ प्रतिशत पर्यटन क्षेत्रमा आएको छ, त्यसपछि सेवा क्षेत्र (२१ प्रतिशत), उत्पादन क्षेत्र (८ प्रतिशत), सूचना प्रविधि (३ प्रतिशत) र कृषि (३ प्रतिशत) रहेका छन्।

विदेशी लगानीकर्ताहरूले १६८ पर्यटन परियोजनामा १७ अर्ब ३२ करोड रुपैयाँ, ४९ सेवा क्षेत्रका परियोजनामा ५ अर्ब ६९ करोड रुपैयाँ र २७ उत्पादन क्षेत्रका परियोजनामा २ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २ फागुन २०८१ १७:०५ | Friday, February 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast