![पुलिस आहारारा पोखरा गोल्डकपको फाइनलमा](https://himalpress.com/wp-content/uploads/2025/02/aaha_rara-4.jpg)
पोखरा– पोखरा रंगशालामा सर्वाधिक विजेता क्लब हो–विभागीय नेपाल पुलिस क्लब। आजभन्दा २४ वर्षअघिको प्रथम क्याराभान गोल्डकपको विजेता पुलिस सहारा क्लब पोखराले लगातार आयोजना गर्दैआएको आहारारामा सर्वाधिक ६ पल्टको विजेता हो।
त्यसो त मनाङ मस्र्याङ्दी क्लबले पनि पुलिस समान सर्वाधिक विजेताको रेकर्ड बनाएको छ। बुधबार ऐतिहासिक १५० औं खेलमा चर्च ब्वाइज युनाइटेड क्लबको चुनौती १–० अन्तरले पन्छाउँदै उक्त रेकर्ड ब्रेक नजिक पुगेको हो।
मनाङ मस्र्याङ्दीको यसपालि अनुपस्थिति छ। जसले गर्दा विभागीय पुलिसलाई सातौँपल्ट उपाधिसहित १२ लाख जित्ने प्रशस्त अवसर छ।
पुलिसले शनिबार फाइनल साविक उपविजेता थ्रि स्टार र उज्जेकिस्तानको ब्ल्याक बुल्स् क्लबको दोस्रो सेमिफाइनल विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ। थ्रि स्टार आहाराराको पाँचपल्टसम्मको विजेता हो भने उज्जेकिस्तानी टिम पहिलोपटक खेल्न आएको हो।
बुधबार पहिलो सेमिफाइनलमा चर्च ब्वाइजलाई पराजित गर्न पुलिसका लागि सञ्जीव लामाले ५८ औँ मिनेटमा गरेको गोल निर्णायक बन्न पुगेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको सुरुआतमै लामाले करिब २५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भयो। लामा नै प्लेयर अफ दि म्याचसमेत घोषित भए।
बराबरी खेल्ने प्रयासलाई चर्च ब्याइजले अन्तिम समयसम्म कायम गरे पनि अन्ततः आहारारामा पुलिसमाथि लगातार तेस्रो जित हात पार्न सकेन। पुलिसले भने विगतको चोट बिर्साउँदै बदला लियो। २२ औं संस्करणमा प्रिक्वाटरफाइनलमा र २३ औँ संस्करणको क्वाटरफाइनलमा चर्च ब्वाइजसामु पुलिसको जोर चल्न सकेको थिएन। यसपालि तेस्रो भेटमा भने पुलिसले झिनो गोलअन्तर भए पनि जितेरै छाड्यो।
आयोजक सहारा क्लब पोखरालाई उद्घाटनमा तथा ब्रिगेड ब्वाइज क्लब युकेलाई पहिलो क्वाटरफाइनलमा पराजित गर्दै पुलिस सेमिफाइनल खेलेको हो। पुलिसले सहारालाई १–० र युके टिमलाई २–० ले हराएको थियो।
चर्च ब्वाइजले पनि यसअघि दुई खेल जित जितेको थियो। चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई ‘सडन डेथ’ को शिकार बनाएकोमा क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
दिनको खेलमा दुवै टिमबाट गोलका केही अवसर गुमेका थिए। १६ औँ मिनेटमा पुलिसका विवेक पाण्डेले गरेको प्रहारले गोस्टको दिशा लिन सकेन। ४२ औँ मिनेटमा उज्ज्वल राईको फ्रि किक विपक्षी डिफेन्डरले सहज पन्छाए। २५ औँ मिनेटमा चर्च ब्वाइजका समीर तामाङले दिएको गतिलो पास सदुपयोग गर्न सकेनन्।
बिहीबार दोस्रो सेमिफाइनल थ्रि स्टार र ब्ल्याक बुल्सबीच हुने आयोजकले जनाएको छ।