रमेश मल्लले छाडे ‘हेडक्वार्टर’, माओवादीको जिम्मेवारी विभाजनप्रति दीपशिखाको असन्तुष्टि

हिमाल प्रेस २८ माघ २०८१ ९:०६ | Monday, February 10, 2025
रमेश मल्लले छाडे ‘हेडक्वार्टर’, माओवादीको जिम्मेवारी विभाजनप्रति दीपशिखाको असन्तुष्टि

काठमाडौँ- लामो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालय रहेर काम गरेका स्वकीय सचिव रमेश मल्लले ‘हेडक्वार्टर’ छाडेका छन्।

उनलाई गएको माओवादी पदाधिकारीबाट स्वकीय सचिवको जिम्मेवारीबाट फेर्दै भूगोलको जिम्मेवारीमा लगिएको हो। उनी २०७८ कात्तिकदेखि प्रचण्डको स्वकीय रहेर काम गरेका थिए। प्रचण्ड तेस्रो कार्यकाल प्रधानमन्त्री बन्दा समेत मल्ल स्वकीय बनेर बालुवाटार छिरेका थिए।

उनलाई भूगोलको जिम्मेवारी दिइएको माओवादी नेताहरूले बताएका छन्। उनले सामाजिक सन्जालमार्फल प्रचण्डको स्वकीय सचिवको जिम्मेवारीबाट बाहिरिएको जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको स्वकीय सचिवको रूपमा तीन वर्ष तीन महिना पूरा गरी पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार सचिवालयको यात्राविराम गरेको छु।’

मल्लले खुमलटारदेखि बालुवाटार र बालुवाटारदेखि खुमलटारसम्म सचिवालयको निकट टिममा रहेर सहकार्यको अवसर प्रदान गर्ने सचिवालय टिमका गंगा दाहाल, सन्तकुमार दरै लगायत सिंगो टिमप्रति हार्दिक आभार समेत व्यक्त गरेका छन्। उनको ठाउँमा गोविन्द आचार्यलाई जिम्मेवारी दिइएको छ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका आचार्य यसअघि प्रचण्डको दोस्रो कार्यकालमा प्रेस सल्लाहकार बनेका थिए। माओवादीले नयाँ जिम्मेवारी भन्दै धेरै नेताहरूको विभागीय जिम्मेवारी हेरफेर गरेको छ। कतिपयले जिम्मेवारी प्रति आपत्ति पनि जनाएका छन्। माओवादी नेता एवं वाईसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले माओवादीले तोकेको जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सन्जालमार्फत नै आफूले वाईसीएलका सिनियर नेतालाई उचित मूल्यांकन गरिदिन सिफारिस गर्दा नसुनेको जनाएका छन्। उनी भने वाईसीएलको पार्टी इन्चार्जसँगै माओवादी उपत्यका सह इन्चार्ज तोकिएका छन्।

प्रकाशित: २८ माघ २०८१ ९:०६ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast