काठमाडौँ- बार्सिलोनाले अलाभेसमाथि जित निकाल्दै लालिगामा तेस्रो स्थान सुनिश्चित गरेको छ। लालिगाका पछिल्ला खेलमा सुधार गर्दै बार्सिलोना विजेता होडमा उभिएको हो।
लालिगाको शीर्ष टिमको प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। शीर्ष स्थानमा रहेको रियल मड्रिडको २२ खेलबाट ४९ अंक छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ४८ अंक छ। यता तेस्रो स्थानमा रहेको बार्सिलोनाको ४५ अंक पुगेको छ।
अबका खेलमा सबै टिमलाई जित आवश्यक छ। लगातार जित निकाल्दै आएको रियलका लागि बलियो बनिरहन अब पनि निरन्तर जितको खाचो छ। बार्सिलोनाले अंक बढाउन अलाभेससँगको खेलमा रोबर्ट लेवान्डोव्स्कीमार्फत निर्णायक गोल गरेको थियो।
बार्सिलोनाले आइतबार अलाभेसलाई १-० ले पराजित गरेको हो। घरेलु मैदानमा बार्सिलोनाको जितमा लेवान्डोव्स्कीले ६१औं गरेको गोल नै निर्णायक रह्यो।
बार्सिलोना अलाभेसविरुद्ध १५ लिग खेलमा अपराजित छ। हालसम्म बार्सिलोनाले अलाभेससँग १३ जित र दुई बराबरी खेलेको छ।