सारस संरक्षणका लागि नेपाल र भारतबीच सहकार्य गर्ने सहमति

विनोद परियार १८ माघ २०८१ २१:२०
10
SHARES
सारस संरक्षणका लागि नेपाल र भारतबीच सहकार्य गर्ने सहमति

लुम्बिनी- नेपाल र भारतका सरकारी तथा संरक्षणकर्मीहरुबीच दुर्लभ पक्षी सारसको संरक्षणका लागि सहकार्य गर्ने सहमति जुटेको छ। डब्लुडब्लुएफ नेपाल र इन्टरनेसनल क्रेन फाउण्डेसनको सहयोगमा त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागद्वारा लुम्बिनीमा आयोजित तीन दिने सारस संरक्षण इण्डो नेपाल ट्रान्सबोर्डर डाइलगका सहभागी चराविद्, प्राणीशास्त्री, संरक्षणकर्मी र सरकारी अधिकारीले सहकार्य गरेर अघि बढने बताएका हुन्।

सीमा क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, सारस संरक्षणको सफल अभ्यासहरु आदानप्रदान गर्ने र सीमा क्षेत्रमा सारसका जोखिमहरु कम गर्न सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ। त्यस्तै दुर्घटना र समस्यामा परेको सारसको उद्धार गर्ने तथा सीमा क्षेत्रमा भएका त्यस्ता घटनाको सूचना आदानप्रदान गर्ने बताइएको छ।

कार्यक्रममा इन्टरनेसनल क्रेन फाउण्डेसन दक्षिण एशिया कार्यक्रम निर्देशक डा. ट्रिप्ट ट्रान, डब्लुडब्लुएफ नेपालका पाटनरसिप प्रोग्राम प्रमुख राजेन्द्र सुवाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिष्ट हरिभद्र आचार्य र भारतको गुजरातमा सञ्चालित सारस विशेष संरक्षण कार्यक्रमकी निर्देशक डा. जीतेन्द्रर नौरले कार्यपत्र प्रस्तुत गरेका थिए।

अहिलेसम्म नेपाल भारतले बाघ, हात्ती र गैँडाका विषयमा छलफल र संरक्षणका कार्यक्रम गर्दै आएकामा पहिलो पटक चराका विषयमा छलफल थालिएर सकारात्मक परिणाम निस्किएको त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक हरि शर्माले जानकारी दिए।

कार्यक्रममा नेपालका कञ्चनपुरदेखि चितवनसम्म सारस पाइने जिल्लाका डीएफओ, वार्डेन, संरक्षणकर्मी, अनुसन्धानकर्मी र स्वयंसेवी सहभागी थिए। त्यस्तै भारतको उत्तर प्रदेश र गुजरातका सरकारी अधिकारी, प्राणीशास्त्री, इकोलोजिस्ट, प्राध्यापक, संरक्षणकर्मी र कृषक सहभागी थिए।

लुम्बिनीमा जनवरी २९ देखि ३१ तारिखसम्म भएको कार्यक्रममा नेपालका ९० जना र भारतका १० जना सहभागी थिए।

उड्न सक्ने मध्ये सबैभन्दा ठूलो चरा सारस हो। यो निकै मनमोहक र सुन्दर हुन्छ।

वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पक्षी प्रजातिमध्ये सारस एक हो। नेपालमा करिब ७ सयको संख्यामा सारस छन्। सारस रुपन्देहीको नगर पक्षी हो भने भारतको उत्तर प्रदेशको राज्य पक्षी हो।

प्रकाशित: १८ माघ २०८१ २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast