यस्ता छन् शिक्षा ऐनमा समावेश गरिनुपर्ने शिक्षक महासंघका २२ माग [सूचीसहित]

हिमाल प्रेस १८ माघ २०८१ ७:३८
3.6k
SHARES
यस्ता छन् शिक्षा ऐनमा समावेश गरिनुपर्ने शिक्षक महासंघका २२ माग [सूचीसहित]

काठमाडौँ- संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक-२०८० संसद्को जारी हिउँदे अधिवेशनबाट शिक्षा ऐनको रूपमा आउनुपर्ने मुख्य माग राखेर नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शुक्रबार चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

महासंघको बुधबार र बिहीबार काठमाडौँमा बसेको  बैठकले शिक्षक, कर्मचारी, विद्यार्थीलगायतका विषयमा सरकारसँग यसअघि गरिएका सहमतिअनुसार यथाशीघ्र शिक्षा ऐन जारी गर्न आन्दोलन गर्ने निर्णय गरेको थियो।

महासंघले  विद्यालय शिक्षा ऐनमा समावेश गरिनुपर्ने २२ बुँदे मागहरू अघि सारेको छ। जसमा बालविकास शिक्षकदेखि विद्यालय कर्मचारीसम्मका माग छन्।

मागहरू

१. अस्थायी प्रकृतिका शिक्षक सम्बन्धमा 

क) राहत, साविक उच्च मावि, शिक्षण सिकाइ अनुदान, प्राविधिकधार तथा विशेष शिक्षाका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलगाई महासंघसँग २०८० सालमा भएको सहमति बमोजिम स्थायी गर्ने र स्थायी हुन नसक्नेको हकमा गोल्डेन हेन्डसेकको व्यवस्था गर्ने। वि.सं. २०७५ को आन्तरिक परीक्षा दिन नपाएका वा छुटेका अस्थायी/करार शिक्षकले पनि यो अवसर पाउने।

ख) अबदेखि फरक खालको सेवासुविधा हुने शिक्षक कोटाहरू सिर्जना नगर्ने। शिक्षक दरबन्दी पुनर्वितरण तथा मिलान कार्यदलले दिएको सुझाव अनुसार नयाँ शिक्षक दरबन्दी थप गरी वितरण गर्ने।

ग) अस्थायी प्रकृतिका शिक्षकको विरामी बिदा सञ्चित हुने व्यवस्था गर्ने।

२. विद्यालय कर्मचारी सम्बन्धमा :

क) तह अनुसार हरेक विद्यालयमा कर्मचारीको दरबन्दी व्यवस्था गर्ने र महासंघसँग भएको सहमतीअनुसार तह (खरदार/नासु /अधिकृत) तोकी शिक्षक सेवा आयोगबाट स्थायी गर्ने।

ख) अवकाश भएका र अवकाश लिन चाहने कर्मचारीलाई सुविधा दिने।

३. बालकक्षामा शिक्षक सम्बन्धमा : 

बाल विकास शिक्षालाई विद्यालय संरचनाभित्र ल्याउने। बाल विकास कोटालाई स्वीकृत कोटा (प्राथमिक तृतीय सरह) मा परिणत गरी महासंघसँग भएको सहमति बमोजिम शिक्षक सेवा आयोगबाट स्थायीत्वको प्रक्रियामा लैजाने।

४. स्थायी शिक्षकको सम्बन्धमा

क) बढुवाको व्यवस्था

शिक्षक बढुवामा चार श्रेणी ( तृतीय, द्वितीय, प्रथम र विशिष्ट) को व्यवस्था गरी बढुवाको अनुपात वृद्धि (६०:२०: १० : ५) गर्ने।

-हरेक दश वर्षमा बढुवा हुने प्रबन्ध गर्ने (आवधिक बढुवा)।

त्यसैगरी आवश्यक शैक्षिक योग्यता र लाइसेन्स भएका शिक्षकको बढुवा गर्दा तहगत (प्राथमिकबाट निमा र निमाबाट माध्यमिक) हुने व्यवस्था गर्ने।

ख) तलब र ग्रेड सम्बन्धमा : शिक्षण पेसाका केही तह र श्रेणी (प्रातृ, प्रा द्वि, निमा तृ र मावि प्रथम ) को उच्चतम ग्रेड संख्या ‍समान तहका निजामती सेवाका कर्मचारीको भन्दा कम रहेको छ। त्यसैगरी नि मा प्रथमको तलब समान तह. (माध्यमिक द्वितीय/उपसचिव) भन्दा कम रहेको छ। यसको खालको विभेदलाई सँधैका लागि अन्त्य गर्न शिक्षकको तलब र ग्रेड समान तह र श्रेणीका निजामती कर्मचारीको भन्दा कम हुनेछैन भन्ने ऐनमा नै उल्लेख गर्ने।

ग) स्थायीको आन्तरिक प्रतिस्पर्धा : तल्लो तहमा स्थायी भएका शिक्षकको हकमा हरेक पटक खुला पदमा शिक्षक सेवा आयोग खुल्दा २५% पद आन्तरिक प्रतिस्पर्धाका लागि छुट्याइ दिने।

घ) निवृत्तिभरणको व्यवस्था : विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई प्रस्थानविन्दु मानी यस अघि स्थायी भएका सबै शिक्षकका लागि पुरानै प्रणाली अनुसार निवृत्तिभरण पाउने व्यवस्था गर्ने र त्यस पछि स्थायी हुने शिक्षक-कर्मचारीको हकमा योगदानमा आधारित पेन्सनको व्यवस्था गर्ने।

ङ) अस्थायी सेवा अवधिको गणना : विश्व विद्यालयमा जस्तै निवृत्तिभरण प्रयोजनका लागि शिक्षकको सबै अस्थायी अवधि गणना हुने व्यवस्था गर्ने।

च) माथिल्लो तहमा स्थायी हुँदा पाउने तलबबारे : तल्लो तहमा स्थायी भएको शिक्षक खुला परीक्षाबाट माथिल्लो तहमा स्थायी हुँदा उसले पाउने तलब तल्लो तहमा स्थायी हुँदा पाएको तलब तथा ग्रेडको योगभन्दा कम नहुने व्यवस्था गर्ने।

५. द्वन्द्वपीडित शिक्षक सम्बन्धमा

द्वन्द्वपीडित तथा शिक्षकको पेसागत संस्थामा बसेर लामो सेवा गरेका शिक्षकको टुटेको सेवा अवधि गणना गरी नियमानुसार उपदान वा निवृत्तिभरण दिने व्यवस्था गर्ने।

६.संस्थागत विद्यालयका शिक्षक सम्बन्धमा : संस्थागत विद्यालयका शिक्षकको तलब भत्ता सामुदायिक विद्यालयका शिक्षक सरह कायम गर्न अनिवार्य व्यवस्था गर्ने। यस्ता शिक्षकको जिल्लास्थित शिक्षासम्बन्धी कार्यलयमा रेकर्ड अद्यावधिक राख्ने र सबै शिक्षक-कर्मचारीका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने। सामुदायिक विद्यालयको निजीस्रोतमा काम गर्ने शिक्षक कर्मचारीका लागि पनि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने।

७. प्रधानाध्यापकको व्यवस्था सम्बन्धमा : प्रधानाध्यापकका लागि छुट्टै दरबन्दीको व्यवस्था गर्ने र पाँच वर्ष सम्बन्धित तहमा स्थायी सेवा गरेका शिक्षकबाट प्रतिस्पर्धा गराई शिक्षक सेवा आयोगमार्फत प्रधानाध्यापकको पदपूर्ति गर्ने। प्रधानाध्यापकलाई प्रशासनिक तथा प्राज्ञिक नेतृत्व गर्ने बलियो र जिम्मेवार पदाधिकारीको रूपमा विकास गर्ने। विद्यालयमा कार्यरत शिक्षक-कर्मचारीको अवस्थाको नियमित अनुगमनका लागि महासंघको प्रतिनिधित्व सहितको अनुगमन समिति बनाउने।

८. शिक्षण काउन्सिल सम्बन्धमा : शिक्षकको रजिस्ट्रेसन, तालिम र पेसागत विकासका क्षेत्रमा काम गर्ने गरी अधिकार सम्पन्न शिक्षण काउन्सिलको व्यवस्था गर्ने।

९. विभागीय कार्बाही : शिक्षकको विभागीय कार्बाहीको अधिकार जिल्ला, प्रदेश र संघका कायालयमा विभाजन गरी व्यवस्थापन गर्ने।

१०.कार्यसम्पादन मूल्याङ्कन : शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको अधिकार विद्यालय, शिक्षा सम्बन्धी जिल्ला स्थित कार्यालय तथा प्रादेशिक कार्यालयमा व्यवस्थित गर्ने।

११. शिक्षक-कर्मचारीको सरुवा : शिक्षकको सरुवाको हकमा पालिकाभित्र सरुवाका लागि शर्त तथा मापदण्डहरू निर्माण गर्ने। अन्तरजिल्ला सरुवाको अधिकार जिल्ला र प्रदेश तहको कार्यालयमा व्यवस्थित गर्ने।

१२. पेसा प्रवेश उमेर : शिक्षण पेसा प्रवेश उमेर ४० वर्ष गर्ने।

१३. वि.व्य.सं : अभिभावकको नेतृत्वमा अभिभावककै बाहुल्य हुने गरी वि.व्य.स गठन हुने प्रबन्ध ऐनमा उल्लेख गर्ने।

१४. जिल्लामा शिक्षाको एकाइ : संघ र प्रदेश तहसँग सम्बन्धित रहेर काम गर्ने गरी जिल्ला तहमा शिक्षाको एकाइ राख्ने। उक्त एकाइबाट एसईई, एसएसली परीक्षाको संयोजन र व्यवस्थापन, शिक्षक सेवा आयोगबाट सञ्चालन हुने परीक्षाको संयोजन तथा व्यवस्थापन, शिक्षकको कार्य सम्पादन मूल्याङ्कन, शिक्षक-कर्मचारीको जिल्लान्तर सरुवा, पालिकाहरूबीच शैक्षिक विषयमा समन्वय गर्ने, शिक्षण काउन्सिल मार्फत गरिने कामको संयोजन र व्यवस्थापन, शिक्षक किताबखानासम्बन्धी कागजातको प्रमाणीकरण, शिक्षकको लामो बिदा स्वीकृतिजस्ता काम जिम्मा दिने।

१५. पद समायोजन : प्राथमिक द्वितीय र नि.मा.द्वितीयमा नियुक्त भएका र त्यसपछि बढुवा भएका सबै शिक्षकको समान तहमा पद समायोजन गर्ने।

१६ :  विद्यालयको सम्पत्ति हस्तान्तरण : विद्यालयको सम्पत्ति गैरशैक्षिक प्रयोजनमा प्रयोग र हस्तान्तरण गर्न नपाइने। शैक्षिक प्रयोजनका लागि समेत यस्तो सम्पत्ति हस्तान्तरणको गर्ने अधिकार संघमा रहने व्यवस्था गर्ने।

१७. प्राविधिक ग्रेड : शिक्षण पेसा प्राविधिक पेसा भएकोले सबै शिक्षकका लागि थप प्राविधिक ग्रेडको व्यवस्था गर्ने।

१८.शिक्षकको मर्यादाक्रम : शिक्षकको लागि राष्ट्रिय मर्यादाक्रमको व्यवस्था गर्ने।

१९.शिक्षक दरबन्दी : हरेक विद्यालयमा शिक्षक दरबन्दी व्यवस्था गर्दा आधारभूत (१- ५) मा प्रधानाध्यापक बाहेक कक्षागत, आधारभूत तह (६-८) मा प्रधानाध्यापक बाहेक विषयगत र मावि तहमा प्रधानाध्यापक बाहेक विषयगत शिक्षकको व्यवस्था गर्ने। हाल रहेका शिक्षक दरबन्दी (कोटा ) हरू स्थानीय तहमा हस्तान्तरण नगर्ने। शिक्षक विद्यार्थी अनुपात १‍:३० गर्ने।

२०. ने.शि. महासंघ :  विद्यालयका शिक्षक-कर्मचारीको पेसागत हकहितको प्राप्ति र संरक्षणका लागि नेपाल शिक्षक महासंघ रहने। शिक्षकको ट्रेड युनियन अधिकारको संरक्षण गर्ने।

२१. शैक्षिक प्रशासनमा शिक्षकको सहभागिता : पालिका, जिल्ला, प्रदेश र संघमा रहेका शैक्षिक प्रशासनका पदहरूमा शिक्षण पेसाबाट पनि लैजाने प्रबन्ध गर्नुपर्ने।

२२. अध्ययनमा आर्थिक सहयोग : शिक्षकलाई उच्च अध्ययन, अनुसन्धान र लेखनका लागि बिदा तथा आर्थिक सहयोगको व्यवस्था गर्नुपर्ने।

यसबाहेक मन्त्रालय वा सरकारले निर्णय गरी गर्न सकिने कामहरू जस्तै, विद्यालय कर्मचारीका छुटेका बढ तलब दिने, मासिक तलब भुक्तानी, शिक्षक अस्पतालको व्यवस्था, शिक्षक सरुवा कार्यविधि खारेजी, निवृत्तिभरण अध्यादेशको खारेजीजस्ता काम गर्नुपर्ने महासंघकाे माग छ। शिक्षण पेसालाई आकर्षक, मर्यादित र पहिलो रोजाइको पेसा बनाउन यसको सेवासुविधा अन्य पेसाभन्दा आकर्षक हुने प्रबन्ध गर्न आवश्यक भएको महासंघले औंल्याएको छ।

प्रकाशित: १८ माघ २०८१ ७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast