
काठमाडौँ- सभापित कप फुटबलको उपाधिका लागि आज संकटा एफसी र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश भिड्दैछन्।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ। पहिलोपटक आयोजना भएको र नेपाली नकआउट फुटबलमै सर्वाधिक नगद पुरस्कार राशी रहेको यस प्रतियोगिताको विजेताले नगद २६ लाख हात पार्नेछन्। उप विजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ।
नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए। दुईदुई खेल जित्दै फाइनलका पुगेका संकटा र आयोजकको टोली फाइनल खेलका लागि तयार छन्।
संकटाले सेमिफाइनलमा मच्छिन्द्र एफसिलाई सडनडेथमा ८-७ गोलले पारजित गर्दै फाइनलमा पुगेको थियो। यस्तै आयोजक बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४-२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
बुधबार आयोजित फाइनलअघिको प्रि-म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार रहेको र खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए।
दुवै टिमले पहिलो संस्करणको उपाधि जित्दै इतिहास रच्ने लक्ष्य राखेका छन्। प्रतियोगिताको च्याम्पियन बन्ने टोलीलाई फाइनलपछि २६ लाख नगद नै प्रदान गर्ने आयोजकले जनाएको छ । फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ। यसअघिका खेलमा १०० र २०० टिकट मूल्य रहेकोमा फाइनल खेलका लागि साधारणतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ।