किसानलाई बेवास्ता गरेर कसरी आउँछ समृद्धि?

सागर रावल १३ माघ २०८१ १३:१३ | Sunday, January 26, 2025
20
SHARES
किसानलाई बेवास्ता गरेर कसरी आउँछ समृद्धि?

२००७ सालको प्रजातन्त्रको उदयपछि लोकतन्त्र हुँदै आजको संघीय गणतान्त्रिक शासन प्रणालीसम्म आइपुग्दा देशले दर्जनौँ प्रधानमन्त्री, सयौँ मन्त्री, हजारौँ योजनाविद् र उच्च प्रशासकहरू पायो तर कृषि क्षेत्रले अपमान, बेवास्ता र तिरस्कारबाहेक केही पाएन। माटोमा टेकेर आएका पात्रले माटोलाई घृणा गरे। खेत जोतेका, आली लगाएका, घाँसदाउरा गरेका, गाईभैँसी दुहेका, भकारो सोहोरेका मान्छे नै शासन प्रशासनको नेतृत्वमा पुगे।

खै त किसानले के पाए? आफ्नैले आफ्नाको मर्म बुझ्दा रहेनछन्। उनीहरूले हिजोको आफ्नो अवस्थालाई गौरवबोध गरेनन्, हेय भावले हेरे, हिजोको आफूलाई आफैँले चिनेनन्। उनीहरू सुकिलामुकिला भए। हिजोको आफ्नो हैसियत गन्हायो। आफू उठेको धरातल बिर्सिए। उनीहरूले आफ्नो जामा फेरे देशको अर्थतन्त्रको जामा फेरिएन। किसानको भाग्य फेरिएन।

भोलिको समुन्नत समाज बनाउने आजको शिक्षा प्रणालीले हो। तर हाम्रो शिक्षा प्रणालीमै खोट छ। हाम्रो शिक्षा प्रणालीले हाम्रो माटोको महिमा सिकाएन, सुगन्ध सिकाएन, पसिनाको मूल्य सिकाएन। माटो र त्यसमा जीवन खोज्ने पात्रहरूलाई घृणा गर्न सिकायो। हामी हाम्रा सन्तानलाई डाक्टर, इन्जिनियर, वकिलजस्ता सुकिला पेसामा जान अभिप्रेरित गर्छौँ। हिजोको लघुताभास र हीनताबोधले हामीलाई गाँजेको छ।

हामी आफ्ना सन्तानलाई आफ्नो माटोमा होइन पराइ माटोमा भविष्य खोज्न, रोज्न र उतै ‘सेटल’ गराउने सपना बुन्छौँ। अनि स्कुले जीवनदेखि नै आफ्नो धरातलप्रतिको नकारात्मक धारणा भर्छौँ। मान्छेको सफलताको सूचक र जीवनको सार्थकता विदेश गएर उतै घरजम बसाउनुलाई मान्छौँ अनि देशको माटोमा भविष्य खोज्ने र देशमा रोजगारी सिर्जना गरेर राज्यलाई सहयोग गर्नेलाई बिचरा भन्ठान्छौँ हामी। राज्यले पनि उसैलाई निचोर्छ अनि कहाँबाट हुन्छ कृषिमा उद्यमशीलताको विकास?

स्कुले नानीबाबुहरूका पाठ्यपुस्तकमा पढाइएका विषय र छापिएका तस्बिर हेर्दा टीठ लाग्छ। डाक्टर, इन्जिनियर, व्यापारी, वकिललगायतका पेसा, व्यवसायहरूलाई सुटेडबुटेड र सुकिलामुकिला तस्बिरमा देखाउने अनि किसानको तस्बिर झुत्रेझाम्रे लुगा लगाएको। यसले बाल मानसिकतामा कृषि र कृषकप्रति कस्तो धारणा बनाउला? ती तस्बिरर हेरेपछि, पढेपछि कृषिप्रति उनीहरूको धारणा पक्कै पनि सकारात्मक बन्दैन। के त्यहाँ उन्नत कृषिफर्ममा ट्याक्टर चलाउँदै गरेको वा कामदार लगाउँदै गरेको तस्बिर राख्न सकिन्न? चिया खेती, फलफूल खेती, तरकारी खेती, गाईपालन, बाख्रापालन, कुखुरापालनजस्ता कृषि फर्मका तस्बिर र विषयवस्तु राख्न सकिन्न? हाम्रो मनोविज्ञानमै खोट छ।

किसानको कुरा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले गरेका थिए। उनले भनेका थिए, ‘देशको योजना बनाउँदा एउटा हलो जोत्दै गरेको गरिब किसानलाई हेरेर बनाउनू।’ तिनै बीपीकै अनुयायीहरू पटकपटक सत्ता र शक्तिमा पुगे, शासन प्रशासनको नेतृत्व गरे। आफू फेरिए, सबैका महल ठडिए तर अहँ कृषि र किसान सधैँ अपहेलित भइरहे।

सबैभन्दा धेरै गरिब र श्रमजीवीका पक्षमा आवाज उठाउँछौँ भन्ने वाम आन्दोलनमा लागेका मान्छेहरूको हातमा पनि सत्ताको साँचो पर्‍यो। उनीहरूको पनि हैसियत फेरियो तर किसान र मजदुरको हैसियत फेरिएन। व्यवस्था फेरियो अवस्था फेरिएन, नीति फेरिए तर नियत फेरिएन। यिनै व्यवस्थामा कृषि क्षेत्र डसाइको मारमा पर्‍यो। हामी हाम्रा बालबालिकालाई सानैदेखि माटोमा गरिने कर्मप्रति घृणा सिकाउँछौँ। अन्न, तरकारी र फलफूल यही माटोमा उत्पादन हुन्छन्, किसानले उत्पादन गर्छन् भन्ने थाहा हुँदाहुँदै पनि हामी कृषिकर्मलाई छि! भन्छौँ, भनाउँछौँ। हाम्रा कर्मशील पाखुराहरूले विदेशी मरुभूमि उद्यान बनाए तर हाम्रो उद्यान मरुभूमि बन्दैछ।

हामी भूगोलमा ठगिएका छैनौँ। जैविक विविधतामा हामी धनी छौँ। ५० को दशकपछि एकाएक हाम्रो समाज परिवर्तित भयो तर त्यो सकारात्मक भन्दा पनि नकारात्मकतर्फ। द्वन्द्वको चपेटामा गाउँ रित्तियो। द्वन्द्वको साइड इफेक्ट कृषिमा पर्‍यो। युवाहरू कोही सहर पसे त कोही विदेशतिर हानिए। सरकारको काम श्रम निर्यात गर्ने र वस्तु आयात गरेर कर उठाउने मात्र बन्यो। बम, बारुद र गोलामा ठूलो रकम खर्च भयो। सहर पस्नेको जीवनशैली महँगो भयो। बिदेसिएका मान्छेका परिवार पनि सहर पसे। विदेशमा पसिना बगाएर कमाएको सीमित पैसाले सहरका असीमित आवश्यकता किन्न हम्मेहम्मे पर्‍यो। गाउँ रित्तियो, सहर भरियो। वर्षौँको कमाइ एउटा टुक्रो घडेरीमा सीमित बन्यो। अन्न र फलफूल फल्ने खेतबारी बाँझै भए। बरु अन्न फल्ने खेतबारीमा बिजुलीका पोल, पिच बाटो र ढुंगागिटी फले।

सदाझैँ बिहानै रेडियोले वैदेशिक रोजगारीको सुवर्ण अवसर र लगत्तै आकर्षक घडेरीहरू बिक्रीमा जस्ता विज्ञापन बजाएको हुन्छ। घरघरमा अन्तर्राष्ट्रिय ब्रान्डका प्रविधि भित्रिए। चुलो परनिर्भर बन्यो। खेत बाँझै राखी बजार गएर झोलामा खानेकुरा बोकी आउने झोले संस्कृतिको विकास भयो। एक पटक सहर पसेको मान्छे पुनः गाउँ फर्कन सकेन। हिजो आफ्नो माटोमा भविष्य नदेखेर बिदेसिएको युवा परदेशको विकास देखेर घरदेशमा सम्भावनाको खोजी गर्न त तम्सियो तर राज्यले लगानीको उचित वातावरण नै बनाइदिएन।

बाबुबाजेले अपनाएको हलो, कुटो र कोदालोमा निर्भर निर्वाहमुखी कृषि प्रणालीमा फर्कने इच्छा देखाएन। नयाँ प्रविधिमा जाने आँट पनि भएन। गाउँघरमा अन्न भन्दा पनि डाँडा, पाखा र खेतीयोग्य मैदान कोतरेर विकास फलेको छ। ती बाटाले कृषिलाई नभई केवल जग्गाको मूल्य बढाएका छन्। अनुत्पादक क्षेत्रमा विकास बजेट सकेर सीमित स्वार्थहरू मोटाउने बाहेक केही भएन। मुलुकका सबै क्षेत्र तहसनहस भएका बेला सबैको आशा अहिले कृषिमा छ।

प्रश्न उठ्छ, हाम्रो कृषि प्रणाली कहाँ छ? आखिर आजसम्मका सरकारले कृषि क्षेत्रलाई माथि उठाउन के कति सार्थक पहल गरे त? हामी माटोमा जन्मिन्छौँ, माटोको रस खाएर हुर्किन्छौँ, सिंगो जीवन माटो जोड्नमा खर्चन्छौँ, एक इन्च माटोका लागि मारामार गरेर रगत बगाउन तयार हुन्छौँ, त्यही माटोमा महल ठड्याउने सपना बुन्छौँ र ठड्याउँछौँ पनि। अनि त्यही माटोलाई निषेध गर्छौँ। माटोसम्बन्धी हाम्रो धारणा नै विरोधाभाषपूर्ण र पूर्वाग्रही छ। मान्छेले संसारको जुनसुकै ठाउँमा पुगे पनि खाने त अन्न नै हो। नासाको वैज्ञानिक होस् वा मंगल ग्रह वा चन्द्रमामा मानव बस्तीको परिकल्पना गर्ने अन्तर्राष्ट्रिय मानव नै किन नहोस् सबैलाई अन्न आवश्यक छ।

अन्न किसानले उत्पादन गर्छ, त्यो माटोमा फल्छ। त्यसैले माटोभन्दा महान् हाम्रा लागि अरु केही हुन सक्दैन। त्यही माटोमा जीवन खोज्ने कृषिप्रणाली र पात्र कृषकलाई किन सम्मानको भावबाट हेरिन्न? हामी हाम्रो देशलार्ई कृषिप्रधान देश भन्छौँ। हाम्रो अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान कृषिको छ तर कृषि क्षेत्र नै राज्यको बेवास्तामा परेको छ। हिजो निर्वाहमुखी कृषि प्रणाली हुँदा आत्मनिर्भर हामी आज परनिर्भर बन्दैछौँ। बर्सेनि अर्बौँको खाद्यान्न र फलफूल नेपालमा भित्रिन्छ।

किसानले चाहिएका बेला बिउबिजन, मलखाद र औषधि पाउँदैनन्। अनुदान टाठाबाठाले मात्र पाउँछन्। उत्पादित वस्तुको मूल्य नपाउँदा टाट पल्टने स्थिति आउँछ तर विदेशको आयात रोकिँदैन। स्वदेशको उत्पादनले विदेशको उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैन। बिचौलियाको बिगबिगीले किसान नै ठगिएका छन्। सरकारले बजार खोजिदिँदैन। कृषिउपजको उचित भण्डारणको व्यवस्था छैन। चिया र कुखुरा पालन लगायतका आत्मनिर्भर भइसकेका व्यवसाय पनि धराशयी हुने अवस्थामा छन्। सरकारको त्यतातिर ध्यान पुगेकै छैन। सरकारले कृषि क्षेत्रका लागि सहुलियतपूर्ण ऋणको कुरा त गर्छ तर बैंकहरू कृषिमा लगानी गर्न डराउँछन्। बैंकहरूलाई किसान गन्हाउँछ। बरु बैंकहरूले रातो कार्पेट अरु नै क्षेत्रका लागि बिछ्याउँछन्। यहाँ पनि किसान अपहेलित हुन्छ।

नेपालमा उच्च हिमाली भाग छोडेर कुनै मरुभूमि छैन। ठाउँ परिवेशअनुसार कृषि क्षेत्रलाई सम्बोधन गर्न सके अपार सम्भावना छ। हामी अन्न, फलफूल, दुग्धजन्य पदार्थ, मासु, तेलहन र तरकारीजस्ता कुरामा आत्मनिर्भर बन्न सक्छौँ। हरेक वर्ष कुनै न कुनै क्षेत्रमा आत्मनिर्भर वर्ष घोषणा गरेर युवा जनशक्तिलाई व्यावसायिकतातर्फ अभिप्रेरित गर्न सकियो भने हाम्रो कृषि क्षेत्र पनि उज्यालो बन्नसक्छ। राज्यको काम नो अब्जेक्सन लेटर बाँड्ने, विदेशमा श्रम निर्यात गर्ने, विदेशी सामानमा कर उठाएर नागरिकलाई परनिर्भर पार्ने मात्र होइन, देशमै सम्भावनाको खोजी गर्ने र त्यतातिर अभिप्रेरित गर्ने हो। विदेशी उन्नत प्रविधि सीप, ज्ञान स्वदेश भित्राई लगानीयोग्य वातावरण निर्माण गर्नु हो।

कोरोनाको कहरबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवालाई अहिले उन्नत कृषि प्रणालीमा जोड्ने सुवर्ण अवसर छ। यसमा राज्य चुक्नु हुँदैन। भिखारीले कहिले पनि भकारी भर्न सक्दैन। भकारी त त्यसले भर्छ जसले खेती गर्छ। अर्काले दिएकाले कहिल्यै पुग्दैन। आफैँ आत्मनिर्भर बन्नुपर्दछ। अबको एउटै आवश्यकता कृषिमा उद्यमशीलताको विकास गरेर रोजगारी सिर्जना गर्नु हो। समाजमा केही गर्छु भन्नेलाई असफलताका कथा जोडेर निराश बनाउने होइन, राज्यले सुरक्षित र न्यानो अभिभावकत्व प्रदान गर्नुपर्दछ।

हाम्रो शिक्षा प्रणाली देशमा केही छैन भनेर भनेर निराशा बाँड्ने होइन, छैनका बीचमा छ को खोजी गर्ने, माटोको सुगन्ध पढाउने र त्यसलाई कर्ममा ढाल्ने, पसिनाको मूल्यको सम्मान गर्ने खालको हुनुपर्दछ। देशका नीतिनिर्मातामा राष्ट्रवादको टोपी लगाएर राष्ट्रलाई घात गर्ने प्रवृत्ति विद्यमान छ। यसलाई रोक्नु पर्दछ। अबको राष्ट्रवाद कर्ममा आधारित हुनुपर्दछ। असली राष्ट्रवादी त्यो हो जसले माटोमा जीवन देख्छ, सम्भावनाको खोजी गर्दछ र सकारात्मकताको सन्देश दिन्छ। जब हामी माटोमा सुगन्धको खोजी गर्छौँ तब हामी कर्मवादी राष्ट्रवादी हुन्छौँ।

प्रकाशित: १३ माघ २०८१ १३:१३ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast