भारतमा रेल दुर्घटना : मृत्यु हुने १३ मध्ये सात जना नेपाली (नामसहित)

हिमाल प्रेस १० माघ २०८१ १७:५६ | Thursday, January 23, 2025
भारतमा रेल दुर्घटना : मृत्यु हुने १३ मध्ये सात जना नेपाली (नामसहित) तस्बिरः पीटीआई

काठमाडौँ- भारतको महाराष्ट्रस्थित जलगाउँमा बुधबार साँझ रेलमा किचिएर सात जना नेपालीको मृत्यु भएको दाबी गरिएको छ। प्रवासी नेपाली सम्पर्क मञ्च भारत, महाराष्ट्र राज्य समितिले जारी गरेको विज्ञप्तिमा मृत्यु हुने १३ मध्ये सात जना नेपाली रहेको दाबी गरिएको हो।

मृत्यु हुनेमा राधेश्याम, नन्दराम विक (अछाम), कमला भण्डारी (कैलाली), हिमु विक (अछाम), जयकला भट्ट (अछाम), मैसरा विक (अछाम) र लच्छिराम कन्नु पासवान छन्। राधेश्याम र लच्छिरामको ठेगाना खुलेको छैन। कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले  दुर्घटनामा निधन भएकी भण्डारी रोजगारीका लागि बम्बई जाँदै गरेको खबर आएको बताए।

दुर्घटनामा अन्य १० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कसरी भयो दुर्घटना?

लखनउबाट मुम्बईतर्फ गइरहेको पुष्पक एक्सप्रेसमा एकाएक आगलागी भएको अफवाह फैलियो। अत्तालिएर केही यात्रुले ट्रेनको चेन (आपतकालीन ब्रेक) ताने। त्यसपछि ट्रेन रोकियो। यात्रुहरू हतार गर्दै ट्रेनबाट ओर्लिए। ठिक त्यहीबेला छेउको ट्र्याकमा कर्नाटक एक्सप्रेस ट्रेन आइरहेको थियो। कर्नाटक एक्प्रेस ट्रेनमा किचिएर १३ जना यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।

लखनउबाट हिँडेको पुष्पक एक्सप्रेस ट्रेन भारतीय समयअनुसार बुधबार साँझ ४:४२ बजे ४२५ किलोमिटर दूरी तय गरेर जलगाउँको पचोरा स्टेसननजिक पुगेपछि यो दुर्घटना भएको हो।

प्रत्यक्षीदर्शी यात्रुलाई उद्धृत गर्दै आजतकले जनाएअनुसार ट्रेनमा आगलागी भएको अपवाहमात्रै थियो। ट्रेनमा आगलागी नभए पनि विनाकारण अपवाह फैलिँदा दुर्घटना हुन पुगेको उनीहरूले बताएका छन्।

‘आमाले सुत्न भन्नुभयो। फेरि एक्कासि बोगीमा आगो लागेको छ भन्ने हल्ला फैलियो। मलाई पनि भाग्न भन्दै आमा अत्तालिएर ट्रेनबाट ओर्लिनुभयो। न आगो थियो, न धुवाँ। तल ओर्लिएर छेउको ट्र्याकतिर हेर्दा आमाको शव थियो,’ कमला भण्डारीकी बुहारी राधा भण्डारीले भारतीय सञ्चारमाध्यमसँu भनेकी छन्।

रेलवेका प्रवक्ता स्वप्निल नीलाले हामफालेका ती यात्रुहरूलाई छेउकै लिकबाट गुडिरहेको अर्को एक्सप्रेस रेलले ठक्कर दिएको थियो। ‘पुष्पक एक्सप्रेसका एउटा कोचमा ब्रेक जामका कारण धुवाँ देखिएको थियो, जसले गर्दा केही यात्रुहरू आतंकित भए,’ एक वरिष्ठ रेलवे अधिकारीले पीटीआईसँग भनेका छन्।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने घोषणा गरेका छन्। त्यस्तै रेलवेले मृतक परिवारलाई साढे एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई पाँच हजार नगद आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

प्रकाशित: १० माघ २०८१ १७:५६ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast