 
                             
                                            पोखरा- गण्डकी प्रदेशसभामा नवनिर्वाचित सांसद आज (सोमबार)देखि पहिलो अधिवेशनमा उपस्थिति हुँदैछन्।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसदको पहिलो अधिवेशन आह्वान गरेबमोजिम सोमबार संसदको पहिलो अधिवेशन बस्न लागेको हो।
बैठक दिउँसो ३ बजेको लागि बोलाइएको छ। प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गर्ने कानुनी व्यवस्था छ । उनले गत मंगलबार अधिवेशनको लागि आह्वान गरे पनि सरकार गठनका लागि अझसम्म समय दिएका छैनन्।
यता, अधिवेशनको बैठक तयारीका लागि संसद् सचिवालयले बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ। संसद बैठकमा प्रदेशका कानुन तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रदेश निजामती सेवा र स्थानीय सेवा सञ्चालनसम्बन्धी अध्यादेश टेबल गर्नेछन्।
प्रदेशका सांसदले पुस १४ मा शपथ ग्रहण गरेका हुन्। अघिल्लो दिन ज्येष्ठ सांसद मित्रलाल बस्याललाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ गराएका थिए। सोमबारको बैठक पनि बस्यालकै सभाध्यक्षतामा बस्ने छ।
६० सदस्यीय गण्डकी प्रदेशसभा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो। जसमा २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ। मनाङबाट स्वतन्त्र रूपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।
संघमा कांग्रेस नेतृत्वको सरकार बन्ने तयारी रहँदा केन्द्रीय राजनीतिको उपलपुथलका कारण यहाँ एमाले गठबन्धनको सरकार बन्ने भएको छ। भावी मुख्यमन्त्री एमालेका खगराज अधिकारी निश्चित प्रायः छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             ![गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : पर्यटन, पूर्वाधार, कृषिमा जोड [पूर्णपाठसहित]](https://himalpress.com/wp-content/uploads/2024/06/gandaki_niti_tatha_karyakram.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 