विपिन जोशीको रिहाइ अन्योलमा, परराष्ट्र सचिव राई भन्छन् : छुट्ने निश्चित छैन

रमेश भारती ६ माघ २०८१ १२:३०
46
SHARES
विपिन जोशीको रिहाइ अन्योलमा, परराष्ट्र सचिव राई भन्छन् : छुट्ने निश्चित छैन परराष्ट्र मन्त्रालय

काठमाडौँ- प्यालेस्टाइनी विद्रोही हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका विषयमा परराष्ट्र मन्त्रालयको नेतृत्वले दुई थरी अभिव्यक्ति दिँदै आएको छ। उनीहरूको फरकफरक अभिव्यक्तिका कारण जोशी तत्काल रिहा हुनेमा शंका उत्पन्न भएको छ।

मन्त्री आरजु राणा देउवाले जोशी चाँडै रिहा हुने बताउँदै आएकी छन्। मन्त्रालयले कूटनीतिक तहबाट रिहाइका लागि पहल जारी राखेको अभिव्यक्ति मन्त्री देउवाको रहँदै आएको छ।

मन्त्रालयका सचिव अमृतबहादुर राई भने जोशी रिहा हुन्छन् भन्ने कुनै निश्चित नभएको बताउँछन्। उनले हिमालप्रेससँग भने, ‘गाजामा युद्धविराम लागू भएपछि हमासको कब्जामा रहेका जोशी रिहाइ हुने अनुमान छ। अहिलेसम्म जोशी छुट्छन् भन्ने निश्चित छैन। युद्धविराम लागू भएपछि हमासले पहिलो चरणमै रिहाइ गर्ने हाम्रो अनुमान हो।’

सचिव राईले इजरायल र प्यालेस्टाइनबीच युद्धविरामको मध्यस्थता गरेको कतार र इजरायलले जोशी छुटाउन पहल गर्ने आश्वासन दिएको बताए। इजरायल र प्यालेस्टाइनबीच गाजामा आइतबारदेखि युद्धविराम लागू भएको छ। युद्धविराम लागू भएपछि हमासले पहिलो चरणमा ३४ जना बन्धकलाई छाड्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ती बन्धकको सूचीमा जोशीको नाम नरहेको सचिव राईले बताए।

मन्त्री राणालाई पनि आश्वसान मात्र

मन्त्री राणाले कतारका परराष्ट्र राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल-खुलाइफीसँग फोनवार्तामार्फत जोशीको रिहाइका पहल गर्न आग्रह गरेकी थिइन्। उनको आग्रहलाई कतारी राज्यमन्त्रीले हमाससँग कुराकानी गर्ने आश्वासन दिएका थिए। मन्त्री राणाले कतारपछि जोशीको रिहाइका लागि गत मंगलबार इजरायलका परराष्ट्रमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी थिइन्।

फोनवार्तामा उनले इजरायल सरकारले जोशीको रिहाइका लागि विशेष पहल गर्नुपर्ने आग्रह गरेकी थिइन्। इजरायल सरकारले जोशीसहित सबै बन्दीलाई रिहाइका लागि पहल गरिरहेको इजरायलका परराष्ट्रमन्त्री गिडियनले राणालाई जवाफ दिएको मन्त्रालयले जनाएको छ।

मन्त्री राणाले सरकारका तर्फबाट जोशीको रिहाइका लागि कूटनाीतिक तहबाट पहल नगरेको परराष्ट्र मन्त्रालयका कर्मचारीको आरोप छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘नेपालले आग्रह गरेको देश, संघसंस्था र शक्ति राष्ट्रले जोशीको रिहाइका लागि पहल गर्ने आश्वसान मात्र दिएका छन्। हमासँग कुराकानी हुन सकेको छैन।’

कूटनीतिक क्षेत्रका जानकारहरू पनि जोशीको रिहाइका लागि कूटनीतिक पहल गर्न सरकार विफल रहेको बताउँछन्। उनीहरूका अनुसार विदेशीको कब्जामा लामो समयदेखि परेका एक युवालाई छुटाउन नसक्नुले कूटनीतिक क्षेत्र फितलो रहेको स्पष्ट भएको छ।

२०८० असोज २० गते इजरायलमा हमासको हमालबाट किब्बुज आलुमिम फार्ममा कार्यरत १० जना नेपालीको ज्यान गएको थियो। त्यस क्रममा हमासले जोशीसहित ८० जनालाई नियन्त्रणमा लिएको थियो।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ नेपाली विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल पुगेका थिए। इजरायल-प्यालेस्टाइन युद्धका क्रममा गत असोज २० गते हमासले गरेको हमलामा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी अपहरणमा परेका थिए।

प्रकाशित: ६ माघ २०८१ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast