भिटिद्नान रोजानापनिच थाइल्यान्डमा फिल्म लेखक र निर्देशकका रूपमा नाम कमाएका व्यक्ति हुन्। उनको अर्को पहिचान हो, सगरमाथाको सफल आरोहण गर्ने पहिलो थाई नागरिक। उनले सन् २००८ डिसेम्बर २० मा सगरमाथा आरोहण गरेका थिए। रोजानापनिचले पछिल्लोपटक २ डिसेम्बर २०२४ मा यासा थाक हिमाल (६,१४१ मिटर) को सफल आरोहण गरेका छन्।
फाइन आर्टसमा स्नातक गरेका रोजानापनिचले कल्चरल म्यानेजमेन्टमा स्नाकोत्तर गरेका छन्। उनले साइम मिसाइल, अ म्यान विल राइज, अ बिट लंगरजस्ता सफल फिल्म निर्देशन गरेका छन्। उनले दर्जन बढी फिल्मको कथा लेख। दर्जनौँ फिल्ममा सहायक निर्देशक भएर काम गरे। टेलिभिजन कार्यक्रम पनि चलाए। कुनै बेला उनी थिएटरमा पनि जमेका थिए। राज्य स्तरबाट पाउने ठूला ठूला अवार्ड पनि पाइसकेका छन्। यतिबेला रोजानापनिच नेपाल थाइल्यान्डलाई जनस्तरमा जोड्ने अभियानमा छन्। थाई नेपाल मैत्री संघको अध्यक्षसमेत रहेका रोजानापनिचसँग गरिएको कुराकानी :
पछिल्लो पटक नेपाल आउँदा कस्तो लागिरहेको छ?
मलाई नेपाल आउँदा दोस्रो घर आए जस्तो लाग्छ। निकै उत्साहित हुन्छु। खुला महसुस गर्छु। सत्कार गर्ने सहरमा ओर्लेको अनुभूति गर्छु। अविवाहित भएर होला कताकता नेपालमै घरजम पो गरौँ झैँ पनि लाग्छ। मेरो उद्देश्य नेपाल र थाइल्यान्डलाई थप नजिक ल्याउने हो। नेपाल थाई सम्बन्ध ६५ वर्ष पुरानो मात्र होइन अति राम्रो पनि छ। दुई मुलुकबीच सामान्य व्यवसाय पनि चलेको छ। नेपालमा जति हुनुपर्ने अझै भएको छैन। थाइल्यान्डमा आउने पर्यटकलाई नेपालमा पनि ल्याउन आवश्यक छ। ती पर्यटकले समुद्र र हिमाल दुवैको अनुभव गर्न पाउनेछन्। यसका लागि मैले थाई नेपाल मैत्री संघमार्फत सहकार्य गर्नेछु। दुवै मुलुममा रहेका दूतावासलाई पनि यसमा घचघच्याउनेछु।
थाइल्यान्डमा फिल्म निर्देशनमा उचाइ लिएपछि कसरी सगरमाथाको शिखर चुम्ने भोक जाग्यो?
पढाइ एकातिर, काम अर्कातिर र इच्छा अर्कोतिर भने झैँ मानिसको सबै तारतम्य एउटै हुँदो रहेनछ। समयअनुसार मानिसका रुचि पनि फरक हुन्छन्। मैले थाइल्यान्डको राम्रो विश्वविद्यालयमा कलाकारिता पढेँ। संस्कृतिमा उच्च शिक्षा हासिल गरेँ। अभिनय सिकेँ। थिएटरमा मात्र होइन सडक नाटक पनि गरेँ। पछि म निर्देशक बनेँ। मलाई सफल लेखक पनि मान्छन्। तर यसले मात्र मेरो इच्छा पूरा भएन। सुटिङका लागि विभिन्न स्थान हेर्ने क्रममा मलाई नेपालको हिमालय शृंखला नियाल्न मन लाग्यो। त्यसका लागि हिमालका केही भाग चढ्नैपर्ने रहेछ। म समुद्र नजिकैको मानिस कसरी हिमाल चढ्ने भन्ने समस्या आइलाग्यो। अनि म फेरि हिमाल आरोहणको अध्ययन र अभ्यासका लागि नेपाल आएँ। प्रशिक्षण लिएँ। शेर्पा समुदायसँग घुलमिल गरेँ। सन् २००८ मा सगरमाथाको शिखर चुमेँ।
सगरमाथाको शिखरमा पुग्दाको अनुभव सुनाउनुस् न?
एक पटक त मलाई बीचमा सक्किएँ जस्तो भएको थियो। बुद्धभूमि भएकाले होला मलाई हेरिदिनुभयो र म बाँचेँ। चिसोले सबै खाइसकेको थियो। थाइल्यान्डको पहिलो नागरिक बनेँ अग्लो चुचुरोमा पुग्ने। त्यति बेला मैले आमालाई सम्झेँ। यसपटक मेरी आमालाई सँगै ल्याएको छु। अनि आफ्नै भूमिको राजसंस्थाको स्मरण गरेँ। संसार जितेसरह भयो मलाई। छोरा सगरमाथा चढेको सुनेर आमा खुसीले गद्गद भएको पाएँ। शिखरबाट फर्कन पनि सजिलो थिएन। एक इतिहास रचेर बुद्धभूमिमै सकिएँ भन्ने पनि भयो। तर सफलतापूर्वक फर्केँ। शेर्पा साथीहरूको प्रोत्साहन र सहयोगले म शिखरमा पुगेँ। शेर्पा नहुने भने अन्य विदेशीले पनि हिमाल चढ्न सक्दैनन्। सलाम छ शेर्पा समुदायलाई। त्यसपछि पनि सानातिना हिमाल चढिरहन मन लाग्यो। आफ्नो मुलुकको चेङमाईमा रहेका डाँडाकाँडा पनि घुम्ने गर्छु। २५ सय ६५ मिटर अग्लो रहेको थाइल्यान्डको माउन्ट इन्थानोन पनि जान्छु। त्यो डाँडा चढेका हामीलाई सगरमाथा चढ्न असाध्यै डर लाग्दो रहेछ।
अहिले किन नेपाल आउनुभयो त?
अहिले पनि म हिमाल चढ्नै आएको हुँ। डिसेम्बर २ मा मैले समुद्र सतहबाट ६ हजार एक सय ४२ मिटर उचाइमा रहेको नेपालको यासा थाक हिमाल सफलतापूर्वक आरोहण गरेँ। यासा थाक हिमालमा चढ्ने पहिलो विदेशी पनि मै हुँ। जहाँ मैले राजा भूमिबोल अदुल्यादेज महान् र महामहिम राजा महा वजिरालोंकोर्नलाई श्रद्धाञ्जली अर्पण गरेँ। यस अवसरमा थाई बुद्धगयाबाट बुद्धको मूर्ति (फ्रा बुद्ध मेट्टा) शिखरमा राख्नका लागि ल्याएँ। साथै कालानामक चामल भएको गिलासको बक्स पनि ल्याएँ जुन चामल सुजाताले बुद्धलाई अर्पण गरेकी थिइन्।
मैले नेपालको पर्यटन विभागलबाट पर्वतारोहण अभियानको प्रमाणपत्र पनि पाएँ। म अब पर्वतारोहण अभियानमा लाग्नेछु। मेरो सफल आरोहण थाहा पाएर मेरी आमा पनि सँगै आउनुभएको छ।
साथै नेपाल र थाइल्यान्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको छ। यो हाम्रो मित्रताको अविस्मरणीय वर्षको उपलक्ष्यमा यासा थाक चुचुरोको नामका पछि ‘इको पिक’ नाम राख्न अनुरोध गरेका छौँ। नेपाल र थाइल्यान्डबीचको कूटनीतिक मित्रता ६५ वर्ष झल्कने गरी इको फ्रेन्डसिप पिक नाम राख्न थाई सरकार र मेरो तर्फबाट प्रस्ताव गरेका छौँ। म नेपाल थाई मैत्रीसंघको अध्यक्षसमेत हुनाले पनि यसमा जोड दिएको छु।
किन यसलाई इको पिकका रूपमा नामकरण गर्न प्रस्ताव गरिएको?
यासा थाक नेपालको हिमालय शृंखलाको नयाँ चुचुरो हो। यसमा आरोहण गर्न निकै असजिलो छ। यसअघि कसैले आरोहण नगरेको हुनाले सुरुमा केही अनुमान गर्न सकेनौँ । मलाई पनि सुरुमा देख्दा चढ्न किठन होला जस्तो लागेको थियो। चढ्न थालेपछि मलाई यो धेरै गाह्रो लागेन। शेर्पा टोली मसँग नभएको भए मलाई आरोहण गर्न निकै गाह्रो लाग्ने थियो र म फर्कने थिएँ।
इको भनेको संसारलाई हाम्रो प्रेम प्रतिध्वनि हो। हामी आशा गर्दछौँ कि हामीले यस ग्रहका सबै मानिसलाई प्रेम प्रतिध्वनि गर्न प्रोत्साहित गर्न सक्छौँ। विश्वशान्तिको कामना गर्दछौँ। गीत इकोलाई राजा राम नवौँले संगीत दिएका हुन्। यस वर्ष राजा रामले आफ्नो ७२ वर्षको जन्मदिन मनाएका छन्। तसर्थ यस वर्ष थाई जनताका लागि विशेष रह्यो। इको शब्दले महामहिम राजा भूमिबोल अदुल्यादेजको शाही रचना इकोबाट प्रेरित दुई राष्ट्रहरूद्वारा साझा गरिएको प्रेम र मित्रताको अनन्त अनुनादलाई प्रतिबिम्बित गर्ने मेरो बुझाइ छ।
नेपाल थाई सम्बन्धलाई थप उचाइमा लैजान कस्ताकस्ता योजना छन् त?
मैत्री संघले दुई देशबीचको सम्बन्ध बलियो बनाउने लक्ष्य राखेको छ। मेरा योजना यही संस्थामार्फत बाहिर आउनेछन्। म खासगरी समुद्र र हिमाललाई जोड्ने अभियानमा छु। हामीले जसरी सन् २०१५ को विनाशकारी भूकम्पमा नेपालमा चन्दा, अत्यावश्यक सामग्री र चिकित्सा उपकरणहरू सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थियौँ। त्यस्तै असहजतामा हामी एकअर्काको पर्याय हुन सकौँ भन्ने नै हो। विकास पनि त्यही गतिमा हामीले सँगै गरौँ। नेपालमा राजनीतिक स्थिरता छैन। त्यसमा सुधार आएर सहकार्य होस् भन्ने चाहना छ। मेरो जोड थाइल्यान्ड र नेपाल सीधा जोडेर पर्यटन व्यवसायमा नेपाललाई माथि उठाउनु रहेको छ। हामीकहाँ सामान्य शिखर छ। कैयौँ मुलुकमा चुचुराको सौन्दर्य छैन। तर पनि ती मुलुकले गति गरिरहेका छन्। नेपालमा सबै थोक भएर पनि प्रगति हुन सकेको छैन। म यसबारे निकै घोत्लिने गर्छु। यहाँका मानिस नम्र, सहयोगी, काम गर्ने खालका छन्। तर पनि मुलुक पछि परेको छ।
फिल्म निर्देशनबाट सधैँका लागि बाहिरिनुभएको हो?
मेरो नसानसामा कलाकारिता र फिल्म छ। पर्वतारोहण त पछि पलाएको चाहना हो। त्यसैले म फिल्ममा त फर्किहाल्छु। नेपाल र थाइल्यान्डका विभिन्न क्षेत्रमा फिल्म खिचेर राम्रो हलिउड फिल्म बनाउने मेरो चाहना छ। त्यसमा नेपाल, थाइल्यान्ड र यस क्षेत्रका कलाकार मात्र नभएर हलिउड कलाकारलाई पनि अभिनय गराउने इच्छा छ। समयले कत्तिको साथ दिनेछ हेरौँ। म केही दिनमा समुद्र र हिमाल जोडेको कथा तयार गर्ने योजनामा छु। यसबारे नेपालका सफल कलाकारहरूदेखि यस क्षेत्रका सम्बन्ध जानकारहरूसँग छलफल गर्नेछु। जसले गर्दा हामीलाई एकअर्कामा जोड्न मद्दत पुग्नेछ। जनस्तरबाहेकको अन्य कार्य त सरकारी स्तरमा भइरहेकै छन्। हामी ‘ट्र्याक टू’ कूटनीतिअनुरूप सहकार्य गर्न चाहन्छौँ।