पूर्वप्रधानमन्त्रीको जीवनशैली

भान्छामा र लुगा किन्न अघि सर्दैनन् बाबुराम

रमेश दवाडी ५ माघ २०८१ १२:४४
1.2k
SHARES
भान्छामा र लुगा किन्न अघि सर्दैनन् बाबुराम

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सक्रिय जीवनको सबैतिर प्रशंसा हुने गर्छ। फुर्सद मिल्नासाथ गृहजिल्ला गोरखाका गाउँबस्ती र उकालीओरालीमा पुग्ने भट्टराई सांगठनिक गतिविधिमा पनि त्यत्तिकै सक्रिय देखिन्छन्।  समकालीन राजनीतिक नेताहरूमध्ये सामान्य देखिने भट्टराई भड्किलो नरुचाउने बताउँछन्।

२०११ साल असार ४ गते गोरखाको पालुङटार नगरपालिका-१ बेलबासमा जन्मिएका भट्टराई २०२६ को एसएलसीमा बोर्डफस्ट भएका थिए। उनले काठमाडौँ र भारतको चण्डीगढबाट उच्च शिक्षा हासिल गरे। चण्डीगढमा पढ्दापढ्दै बाबुरामले अखिल भारत नेपाली विद्यार्थी संघको नेतृत्व गरेर राजनीतिक पृष्ठभूमि तयार बनाएका थिए। २०६५ सालमा अर्थमन्त्री बनेका बाबुराम मुलुकको ३६ औँ प्रधानमन्त्री हुन्। २०६८ सालमा प्रधानमन्त्री भएका बाबुराम अहिले नेपाल समाजवादी पार्टी नयाँ शक्तिका संयोजकका रूपमा सक्रिय छन्।

बाबुराम काठमाडौँको टोखामा बस्छन्। राजनीतिबाहेक उनको धेरै समय अध्ययनमा बित्छ। जाडोयाममा उनी ६ बजे र गर्मीयाममा ५ बजे उठ्छन्। स्वअनुशासन पालना गर्ने उनको बानी छ। विद्यार्थी र राजनीतिको भूमिगत जीवनमा पनि सकेसम्म स्वअनुशासन पालन गर्ने गरेको सुनाए। कामविशेष अवस्थामा रातभर बस्छन् बाबुराम। उनले एउटा अनुभूति सुनाए। ‘२०३६ सालमा आन्दोलन हुँदा स्नातकोत्तर गर्दै थिएँ। दिनभर आन्दोलनमा जान्थेँ। फाइनल परीक्षा पनि त्यही बेलामा पर्‍यो। दिनभर आन्दोलनमा, रातभर पढाइमा मेरो समय बित्यो। स्नातकोत्तरको थेसिस बुझाउँदा मैले लगातार ११० घण्टा काम गरेँ। शुक्रबार बेलुकादेखि थेसिसको काम गर्न थालेको एकैचोटि बुधबार बिहान सकेर सुतेको छु,’ बाबुराम ती दिन सम्झन्छन्।

सम्भव भएसम्म आफ्नो दैनिकी व्यवस्थित बनाउँछन् बाबुराम। बाबुरामकी अर्धांगिनी  हिसिला यमि पनि दैनिक जीवन व्यवस्थित चाहन्छिन्। बाबुराम भन्छन्, ‘मेरो जीवनसाथी हिसिलाजी पनि जीवनचर्या, खानपान, स्वाथ्यलगायतमा नियमितता ल्याउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ। निजी जीवन सकेसम्म नियमित र व्यवस्थित गर्ने बानी छ।’

उमेर घर्किंदै जाँदा बाबुरामले आफ्नो स्वाथ्यमा निकै ध्यान दिन थालेका छन्। जंगफुड (पत्रुखाना) बाट उनी टाढा छन्। उनी भन्छन्, ‘स्वास्थ्यका निम्ति खानपानमा ध्यान दिनुपर्छ। त्यसमा पौष्टिक तत्त्वलाई ख्याल गर्नुपर्छ। स्वाथ्यलाई हानि गर्ने खानेकुरा खानुहुँदैन। पत्रुखानापट्टि कहिल्यै ध्यान गएन। साथीभाइसँगको भेटघाटमा कहिलेकाहीँ खाइयो होला। सामान्य रूपमा नेपालमा दाल, भात, तरकारी, माछामासु खाइन्छ। मलाई पनि त्यति रुचि लाग्छ।’

सिरानचोक गाउँपालिकाको पाण्डेबेँसीमा रहेको एउटा ढुंगामा बसेर आराम गर्दै डा. बाबुराम भट्टराई।

नेपाली समाजले भात कि रोटी बढी रुचाउँछ। दिनभर काम गर्नुपर्ने भएकाले बिहान आडिलो खाना र बेलुका हल्का खाना खाने कतिपयको बानी हुन्छ। बाबुरामलाई भारतमा पढ्दा रोटी खाने बानी पर्‍यो। ‘गाउँमा जे खाइयो त्यसको असर पर्ने रहेछ। पहिले त भातै खाने बानी हो। भारतमा पढ्दा सुख्खा रोटी खाने बानी भयो। एउटा प्रसिद्ध भनाइ पनि छ- बिहानको नास्ता राजामहाराजाको जस्तो खानु। दिउँसोको खाना युवराजको जस्तो गरेर खानु र बेलुका खाना भिख मगाई जस्तो गरेर खानु। त्यसो हुँदा बिहानको खानामा अलि बढी ध्यान दिन्छु,’ बाबुरामले भने।

बाबुराम नास्ता ठिक समयमा ठिकसँग खान्छन्। दिउँसो ठिक्क र बेलुका कम खान्छन्। सधैँ बिहान ८ बजे नास्ता खाने बाबुराको बानी छ। नास्तामा अण्डा, फलफूल, रोटी या अरु केही चिज हुन्छ। अचेल दूध पिउँदैनन् उनी। भन्छन्, ‘पहिला पिउँथेँ, अहिले पचाउन गाह्रो हुन्छ।’

बिहानको साढे ११ वा साढे १२ को बीचको खाना खान्छन् उनी। खानामा दाल, भात, सागजन्य तरकारी हुन्छ। त्यसपछि दिउँसो ३-४ बजे हल्का नास्ता र बेलुका ७-८ को बिचमा खाना खाने नियमित तालिका भएको बाबुरामले सुनाए।

स्वास्थ्यका लागि नियमित व्यायाम आवश्यक छ। गाउँमा हिंडडुल गर्ने, भलिबल खेल्ने, गाउँबेँसी गर्दा व्यायाम जरुरी हुँदैन। सहरमा हुँदा सधैँ स्फुर्ति रहन बाबुराम व्यायाम गर्छन्। पेटको अपरेसन गरेपछिचाहिँ उनी ध्यान मात्र गर्छन्। उनले भने, ‘पेटको अप्रेसन गरेपछि आसन नमिल्ने हुँदा व्यायामभन्दा पनि योगका केही आसन, प्राणायाम, ध्यान गर्छु।’ यसका लागि बाबुरामले दैनिक १ घण्टा समय छुट्याएका छन्।

उनले भने, ‘स्वास्थ्यका लागि खाना, व्यायाम र निद्रा जरुरी छ। म १० बजे सुत्छु। पहिला ६ घण्टा सुत्नुपर्छ भन्थे। वैज्ञानिकले ८ घण्टा सुत्नुपर्छ भन्दा रहेछन्। त्यसैले बिस्तारै ७ घण्टा सुन्नुपर्छ भन्नेतिर लागेको छु। ११ देखि ६ सम्म, अथवा १० देखि ५ बजेसम्म सुत्दा ७ घण्टा सुतिन्छ।’

स्वास्थ्यलाई समेत दृष्टिगत गरेर बाबुराम चिन्ता होइन चिन्तन गर्छन्। ‘म दिमाग खेलाइरहेको हुन्छु। नकारात्मक ढंगले सोच्ने, के भयो के भन्ने गर्दिनँ। म आत्तिने र मात्तिने गर्दिनँ। यो स्वभाव मेरो कहिल्यै पनि रहेन। त्यसले स्वास्थ्यलाई हानि गर्न भनेपछि त्यसमा ध्यान दिन्छु।’

खानपान, व्यायाम, निद्रा र चिन्तारहित चिन्तन यी चार पक्षमा ध्यान दिनुपर्छ भन्ने बाबुरामको मान्यता हो। पहिलादेखि खानपान नमिलेका कारण बाबुरामको पेट कमजोर छ। त्यसैले उनी ग्यास्ट्रिकको औषधी खान्छन्। केही वर्षदेखि प्रेसर र थाइराइडको औषधी खान थालेको उनले सुनाए।

नेपाली राजनीतिमा बौद्धिक, अध्ययनशील नेताको छवि भएका बाबुराम प्रायः सबै विषय अध्ययन गर्छन्। बढी चिन्तन गर्ने बाबुराम बच्चा बेलादेखि नै जीवनजगत्‌बारे सोच्ने गर्थे। यस्तो सोच कहाँबाट आयो बाबुरामलाई थाहा छैन।

बाबुराम भन्छन्, ‘आइस्टाइनहरूको जीवनी पढ्दा त्यसलाई ‘थट एक्सपेरिमेन्ट’ भन्दा रहेछन्। यो किन भयो? त्यसपछि के हुन्छ? किन, के भयो? त्यसले के गर्छ? भन्ने खोलको दिमागमा खेलाइराख्दा सिर्जनशीलता ल्याउँदो रहेछ। यो मेरो पहिलेदेखिकै बानी हो। म प्रायः सबै विषय अध्ययन गर्छु। रुचिको विषय एक त जीवनदर्शन, विज्ञान हो। पछिल्ला आविष्कार के भए, भौतिक विज्ञान र जीवविज्ञान पनि रुचिको विषय हो। राजनीति-अर्थशास्त्र रुचिको विषय हो। समाजको गति, परिवर्तन र विकास समृद्धिका निम्ति राजनीति-अर्थशास्त्र आवश्यक पर्ने रहेछ भन्ने लागेर पढ्छु। सौन्दर्यशास्त्रमा पनि रुचि छ। उपन्यास, कविता पहिले निकै पढ्थेँ। अचेल कम भएको छ। समग्रमा म सबैखाले पुस्तक पढ्छु।’

भान्साको काम गर्न बाबुराम झन्झट मान्छन्। अध्ययन, चिन्तनमननतिरै बढी ध्यान पुग्ने भएकाले बाबुराम जे काम छिटो सकिन्छ त्यही गर्न अघि सर्छन्। बाबुरामले सुनाए, ‘म घाँस काट्न पनि सोखिन थिएँ। स्कुल, कलेज पढ्न डेरामा बसेका बेला काम बाँडेर गर्थ्यौँ। मेरो रोजाइमा छिटो सक्ने काम पर्थ्यो। अरू गोबर फ्याँक्न हिचकिचाउँथे। म अगाडि सर्थेँ। एकछिन फ्याँकेपछि सकिहाल्थ्यो। भान्सातिर मेरो रुचि छैन। खाना बनाउन झन्झट लाग्छ।’

घरमा भैँसी र बेँसीमा गाईको गोबर फ्याँकेको बाबुरामलाई सम्झना छ।

आफ्नो पुर्ख्यौली घरको बार्दलीमा  डा. भट्टराई।

स्कुल पढ्दा बाबुराम डेरामा बस्थे। ‘स्कुलमा संयुक्त डेरा थियो। त्यहाँ पनि म भाँडा माझ्न अघि सर्थेँ। त्यो काम पनि छिटो सकिन्थ्यो। अहिले पनि घरमा केही गर्न पर्‍यो भने म ट्वाइलेट सफा गर्छु। म किन यस्तो गर्छु भने समयको बचत हुन्छ। अहिले हिसिलाजी र म काम बाँडेर गर्छौं। बढी उहाँले गर्नुहुन्छ,’ बाबुरामले सुनाए।

बाबुराम आफूले लगाउने कपडाबारे कहिल्यै सोच्दैनन्। आफैँले कहिल्यै कपडा किनेका पनि छैनन्। त्यसमा उनको रुचि छैन। किताब किन्नमा भने बाबुरामको रुचि छ। बाबुरामले भने, ‘त्यतापट्टि मेरो कहिल्यै रुचि भएन, छैन। जे दियो त्यही लगाउँछु। मेरा लुगा साथीहरू, परिवारले नै किन्दिन्थे। किन्छन्। मैले किन्ने भनेको किताब हो। अमेरिका, जापन जहाँ गए पनि किताब किनेँ। किन्थेँ। अहिले पनि महिनाको एकपटक पसलमा गएर किताबचाहिँ किन्छु।’

अध्ययनका लागि उनको निश्चित समय छैन। सार्वजनिक जीवन भएकाले बिहान फुर्सद नहुँदा प्रायः बेलुका नै पढ्ने गरेको उनले बताए। ७७ वटै जिल्ला पुगेका बाबुरामलाई सहरीभन्दा गाउँको जीवन ठिक लाग्छ। उनले भने, ‘मलाई घुम्न मन पर्छ। पहिले नै ७७ जिल्ला हिँडेको थिएँ। अहिले पनि गइरहेको हुन्छु। सहरीभन्दा गाउँको जीवन रुचाउँछु। शान्त क्षेत्र मन पर्छ।’

गायत्री नजपी चिया पिउँदैनन् लोकेन्द्रबहादुर चन्द


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast