पूर्वप्रधानमन्त्रीको जीवनशैली

गायत्री नजपी चिया पिउँदैनन् लोकेन्द्रबहादुर चन्द

किरण पौडेल/रमेश भारती ८ मंसिर २०८१ १३:५९
176
SHARES
गायत्री नजपी चिया पिउँदैनन् लोकेन्द्रबहादुर चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द।

काठमाडौँ- मुलुकमा पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिको व्यक्तिगत जीवनसँग सम्बन्धित जानकारी प्रायः बाहिर आउँदैनन्। राजनीतिक घटनाक्रमबारे पूर्वप्रधानमन्त्रीले व्यक्त गर्ने धारणा समाचारका विषय बन्छन्। यद्यपि कार्यकारी पदमा बसेर शासनसत्ता चलाएका व्यक्तिको दैनिकी, उनीहरूको खानपान र जीवनशैलीबारे धेरैको चासोको विषय हुन सक्छ। यसैले यसपटक यहाँ दुईपल्ट पञ्चायती व्यवस्थामा र दुईपल्ट बहुदलीय व्यवस्थामा प्रधानमन्त्री बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दको जीवनशैलीका केही पक्षलाई समेटेका छौँ।

राप्रपाका संस्थापक नेता चन्द राजनीतिबाट अवकाश लिई जीवन बिताउँदैछन्। १९९६ मा बैतडीमा जन्मिएका चन्द २०२७ सालमा बैतडी जिल्ला पञ्चायतको सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका हुन्। कानुनका विद्यार्थी चन्द वकालती गर्दागर्दै राजनीतिमा लागेका थिए।

उनी २०४०, ०४६, ०५३ र ०५९ सालमा गरी चारपल्ट प्रधानमन्त्री भए। चन्द भक्तपुर लोकन्थलीमा बस्छन्। राजनीतिबाहेक उनी साहित्यकार हुन्। कथालेखनमा रुचि राख्ने चन्दले ‘विसर्जन’ कथासंग्रहका लागि २०५४ सालको मदन पुरस्कार पाएका थिए।

राजनीति र साहित्यमा दुवैमा सफल चन्द बिहान ६ बजे उठिसक्छन्। यसका लागि उनले अलार्म लगाउँदा रहेछन्। उनी भन्छन्, ‘अलार्म लगाइनँ भने केही ढिला उठ्छु।’ उनले पहिलापहिला शारीरिक व्यायाम गरे पनि अचेल गर्न छाडेका छन्। आफ्नै घरभित्र केहीबेर यताउता हिँड्छन्। ‘बुढ्यौलीका कारण पनि शारीरिक व्यायाम गर्न छाडेको हुँ। बिहान नियमित आँगनमा हिँड्नचाहिँ छाडेको छैन।’

८५ वर्षीय चन्द नित्यकर्मपछि हरेक बिहान आधा घण्टा सन्ध्यावन्दनमा व्यस्त हुन्छन्। उनले सन्ध्यावन्दन पहिलादेखि गर्दै आएको बताए। उनले भने, ‘गायत्रीजप गरेपछि मात्रै चिया खान्छु।’

चियाखाजा खाएपछि पत्रपत्रिका पढ्ने बानी छ चन्दको। राजनीतिक भेटघाटमा उनी त्यति व्यस्त हुँदैनन्। चन्द भन्छन्, ‘मलाई चिन्ने र राजनीतिमा चासो राख्ने राजनीतिक साथीहरू आउनुहुन्छ। उहाँहरूसँग केहीबेर बिताउँछु।’

चन्द बिहानको खाना साढे ११ बजेसम्ममा खाइसक्छन्। उनलाई खानेकुरामा मन पर्ने/नपर्ने भन्ने छैन। भान्सामा पाकेको कुरा जे पनि खाइदिन्छन्। पछिल्लो समय भने स्वास्थ्यका कारण केही परहेजमा रहन थालेको उनले बताए।

उनी भन्छन्, ‘अचेल मेरो खानपान अलि फरक खालको हुन्छ। म कोदो र मकैको ढिँडो खान्छु।’ स्वास्थ्यका लागि आफूले ढिँडो खाने गरेको चन्दले बताए। उनले भने, ‘दालभात मन त पर्छ तर चामलको भात मेरो स्वास्थ्यका लागि हितकर भएन।’ चन्द बेलुका सादा खाना र कहिलेकाहीँ रोटी खान रुचाउँछन्। बेलुका साढे ७ बजे खाना खान्छन्।

साँझ दुई घण्टा टेलिभिजन हेर्ने बानी उनको छ। उनी टीभीमा प्रायः समाचार हेर्ने बताउँछन्। साइबाबाको कार्यक्रम पनि हेर्नेमध्येमा पर्छ। चन्द बेलुका सधैँ १० बजे सुत्छन्।

पूर्वप्रधानमन्त्री चन्दलाई भान्सामा गएर केही तयार पारौँ जस्तो लाग्दैन। पहिलादेखि नै खाना पकाउन रुचि नभएको उनले बताए। उनले भने, ‘विगतमा कहिल्यै भान्छामा गएर पकाइनँ। व्यस्तताले पनि भान्साको काममा लाग्न नपाएको हुँ।’

बिहान खाना खाएपछि उनी घरमै बस्छन्। ३ः३० बजेपछि फिजियोथेरापिस्ट  आउँछन्। ५ बजेसम्म उनीसँग शारीरिक अभ्यास गर्छन्। चिकित्सकले हड्डी खिएको भनेर सल्लाह दिएपछि औषधि खाने गरेको उनले बताए। चन्दले भने, ‘पेन किलरचाहिँ लिन्नँ।’ उनको ढाड र खुट्टामा समस्या छ।

चन्द कहिलेकाहीँ साहित्यकारसँग समय बिताउँछन्। केही समयअघि घरबाहिर पनि जान्थे। ‘अहिले गएको छैन। म बिरामी परेँ। केही महिनाअघि वीर अस्पतालबाट आएपछि घरमै आराम गरेर बसेको छु’, चन्दले भने।

पहिरनमा हल्का भए हुन्छ उनलाई। विगतमा दौरासुरुवालमा ठाँटिएर हिँड्न रुचाउने चन्दलाई अचेल गरम लुगा मन पर्दैन। आफूले साहित्यका सबै विधामा कलम चलाएको चन्दले बताए। बिरामी भएपछि साहित्य लेखन केही घटेको हो। उनले भने, ‘साहित्यका सबै विधामा लेखेको छु। अब हात पनि चल्न छाडेको छ।’

अहिले साहित्य लेख्नेहरूमा पठन संस्कृति घटेको उनको बुझाइ छ। आफू सक्रिय राजनीतिमा रहँदा पनि पुस्तक अध्ययनलाई समय छुट्याउने गरेको स्मरण गर्दै चन्दले भने, ‘मोबाइल प्रयोगले किताब पढ्ने बानी कम भएको महसुस हुन्छ।’

साहित्यमा यस्तै लेख्नुपर्छ भन्ने उनलाई लाग्दैन। चन्द भन्छन्, ‘लेख्न खोज्दैमा साहित्य लेखिने चिज होइन। मानौँ, तपाईँ हिँड्दै हुनुहुन्छ, बाटोमा कसैले मान्छे कुटेको देख्नुभयो, तपाईँलाई अब कुरा फुर्छ। साहित्य आफसेआफ फुर्ने चिज हो।’

राजनीतिलाई सम्भावनाको खेल बताउने चन्दको बुझाइमा राजनीतिबारे केही भन्न सकिन्न। यसमा सफलता हासिल हुन पनि सक्ने र नहुन पनि सक्ने उनले बताए। आफू सक्रिय राजनीतिबाट मुक्त भए पनि उनलाई राजा र हिन्दु धर्मबारे केही चासो रहेछ। चन्दले भने, ‘अब राजा र हिन्दु धर्मबारे सबै राजनीतिक दलबीच छलफल सुरु हुनुपर्छ। यसबारे राजनीतिक दलले छलफल गर्ने वातावरण बनाउनुपर्छ।’

चन्दका दुई पत्नी (सुभद्रा र दिव्येश्वरी) बाट चार छोरा र तीन छोरी छन्। जेठा छोरा जयन्त राजनीतिमा संलग्न छन्। एकपटक मन्त्रीसमेत भएका जयन्त राप्रपामा आबद्ध छन्।
माइला अरुण चन्दले चिनी मिल सञ्चालन गरेका थिए। अहिले बन्द छ।

साहिँला विनोद चन्द कम्प्युटर इन्जिनियर हुन् भने कान्छा भूपेन चन्दले केही समय कलाकारितामा लागेर हाल अमेरिकामा बसोबास गर्र्दै आएका छन्। तीन छोरीहरू सुशीला राणा, सुनिता राणा र मीरा शाह आआफ्नो पारिवारिक जिम्मेवारीका साथ सुखी जीवन बिताइरहेको चन्द बताउँछन्। उनलाई जीवनमा केही गुनासो छैन। चन्द भन्छन्, ‘जीवनप्रति सन्तुष्ट छु।’

प्रकाशित: ८ मंसिर २०८१ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast