सुडानमा गोलाबारीमा १२० बढीको मृत्यु

हिमाल प्रेस १ माघ २०८१ १७:०१ | Tuesday, January 14, 2025
सुडानमा गोलाबारीमा १२० बढीको मृत्यु सांकेतिक तस्बिर

पोर्ट सुडान- सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन्।

पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपत्कालीन प्रतिक्रिया कक्षले जनाएको छ।

नेटवर्कले यो मृत्यु संख्या प्रारम्भिक रहेको बताउँदै आक्रमणको पछाडि को थियो भनेर निर्दिष्ट गरेको छैन। स्वास्थ्य कार्यकर्ताहरूका अनुसार उद्धारकर्ताहरूले ‘विभिन्न स्तरका चोटपटकबाट पीडित ठूलो संख्यामा घाइते व्यक्तिहरूको’ उपचार गर्न संघर्ष  गरिरहेका बेला चिकित्सा आपूर्तिको अत्यन्त अभाव रहेको बताए।

सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको लडाइँ बढेको छ। सहायता एजेन्सीहरूका अनुसार युद्धमा दशौँ हजार मानिस मारिएका छन् जसले देशलाई अनिकालको सँघारमा पारेको छ।

सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाइएको छ। ओमदुरमानको अधिकांश भाग सेनाको नियन्त्रणमा छ भने आरएसएफले राजधानी र बृहत्तर खार्तुम क्षेत्रको केही भाग नियन्त्रण गरेको छ।

नाइल नदीका दुवै तर्फका बासिन्दाहरूले नदी पार गरेर गोलाबारी भएको बताएका छन्। त्यहाँ बम र छर्राहरू नियमित रूपमा घरहरू र नागरिकहरूमाथि पर्ने गरेका छन्।रासस/एएफपी

प्रकाशित: १ माघ २०८१ १७:०१ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast