मिथिलाञ्चल क्षेत्रमा तिला संक्रान्ति मनाइँदै

हिमाल प्रेस १ माघ २०८१ ७:३७
4
SHARES
मिथिलाञ्चल क्षेत्रमा तिला संक्रान्ति मनाइँदै

महोत्तरी- मिथिलाञ्चल क्षेत्रमा आज तिला संक्रान्ति (माघेसंक्रान्ति) पर्व मनाइँदैछ। मंगलबार बिहानैदेखि तिला संक्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका-५ का संस्कृतिविद् ध्रुव राउतले बताए।

प्रत्येक वर्ष माघ १ गतेका दिन यस क्षेत्रका प्रत्येक सदस्यले चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ भने खिचडी र दही, चिउराको भोजन गर्ने चलन रहेको जलेश्वर-१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए। सोही अनुसार आज घरघरमा सो पर्व मनाइने उनको भनाइ छ।

मिथिला क्षेत्रमा अनादीकालदेखि माघ १ गतेको बिहान घरका सदस्य जागेर नित्यक्रमपछि नुहाउने र सोही बेलादेखि चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन रहेकाले बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलभरि तिला सङ्क्रान्ति मनाउन थालिएको जलेश्वर-८ का पण्डित बद्रीनारायण झाले बताए।

यहाँका गृहिणीले केहीदिन अघिदेखि तिल, चिउरा र भुजाको लड्डु बनाउने चलन रहेको विनिता देवीले बताए। ‘महिलाको समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिका घरमा गएर चिउरा, भुजा र तिलमा सख्खर हालेर लड्डु बनाइदिने चलन छ, सोही कारण यसलाई आपसी मेलमिलापको पर्व पनि भन्ने गरिन्छ,’ उनले भने।

घरका ज्येष्ठ सदस्यले अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाई कुल देवतालाई चढाउने र पछि सोही सामग्रीबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै (हमर तिल बहवे) अर्थात् ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौं, मैले भनेको गर्छौं’ भन्ने चलन रहेको जलेश्वर-२ की अञ्जु यादवले बताए।

चिउरा, भुजा र तिलबाट बनाइएका विभिन्न प्रकारका लड्डुहरू घरका सबैले खानुका साथै आफन्त, नातेदार र कुटुम्बलाई पनि कोसेली पठाउने चलन रहेको उनले जानकारी दिए।

प्रकाशित: १ माघ २०८१ ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast