राति सुत्नै नसक्ने गरी मोटरसाइकल कुदाउन थालेपछि जाग्यो प्रहरी

विनोद परियार २८ पुष २०८१ १३:४९
100
SHARES
राति सुत्नै नसक्ने गरी मोटरसाइकल कुदाउन थालेपछि जाग्यो प्रहरी बुटवलका विभिन्न क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएका स्वरुप परिवर्तन गरी ठूलो आवाजमा चलाएका मोटरसाइकल र साइलेन्सर। तस्बिर : विनोद परियार

लुम्बिनी- केही समयदेखि बुटवलमा युवापुस्ताले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाली मोटरसाइकल कुदाउन थालेपछि प्रहरीले नियन्त्रण गर्न थालेको छ। रातभरि सुत्नै नसक्ने गरी ठूलो आवाजमा मोटरसाइकल कुदाउने र सडकमै स्टन्ट गरेको जनगुनासो व्यापक हुन थालेपछि बुटवलमा प्रहरीले विशेष अभियान सुरु गरी नियन्त्रण गर्न थालेको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलले विशेष अभियान सुरु गरी मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकालेका मोटरसाइकल नियन्त्रण गरी कारबाही थालेको छ।

बुटवल बजार क्षेत्रका सडकमा ठूलो आवाज निकाली तीव्र गतीमा चलाई ध्वनि प्रदूषण गर्ने, स्टन्ट गरी सामाजिक सञ्जालमा भिडियो राखेकालाई नियन्त्रण गरी कारबाही गर्न थालिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए। उनका अनुसार विशेष अभियानअन्तर्गत एकै दिन ११ वटा स्वरूप परिवर्तन गरेका मोटरसाइकललाई नियन्त्रण गरी कारबाही गरिएको छ।

विशेष गरी बुटवलमा रोयल इन्फिल्ड कम्पनीको (बुलेट), क्रसफायर जस्ता डट मोटरसाइकलहरूमा सम्बन्धित कम्पनीले राखेको साइलेन्सर पाइप आफूखुसी निकाली ठूलो आवाज आउने खालका साइलेन्सर पाइप राखेर रातको समयमा स्थानीयलाई त्रसित बनाउने गरी चलाउने गरेको पाइएको हो। ठूलो आवाज निकाल्न र स्टन्टका लागि सवारीको साइलेन्सर पाइप, हेन्डल, स्टिकर, लाइट, सिट, लुकिङ ग्लासजस्ता स्वरुप परिवर्तन गरेको पाइएको छ।

बुटवलको कालिकानगर, बुद्धनगर र बेल्बास बदेलपोखरी क्षेत्रमा पछिल्लो समयमा यो समस्या बढ्न थालेपछि निगरानी बढाउनुपरेको प्रहरी उपरीक्षक खत्रीले बताए। ‘विशेष गरी राति १० देखि २ बजेसम्म ठूलो आवाजमा सडकमा मोटरसाइकल कुदाउन स्थानीयले निदाउनै नसक्ने अवस्था आयो भनेर गुनासो गर्न थाल्नुभयो’, प्रहरी उपरीक्षक खत्रीले भने, ‘अब हामीले निगरानी बढाएका छौँ, जसले ठूलो आवाज निकालेर मोटरसाइकल कुदाउँछ, त्यसलाई नियन्त्रण गरी कारबाही गछौँ।’

ट्राफिक प्रहरीले अहिले इलाका प्रहरी कार्यालय बुटवलसँग समन्वय गरेर विशेष अभियान सञ्चालन गरेको छ। विशेष अभियानका क्रममा बिहीबार ११ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही थालेको छ। साउनयता ६१ वटा मोटरसाइकललाई कारबाही गरी ६ लाख १० हजार राजस्व संकलन गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताए। उनका अनुसार पछिल्लो समय नियन्त्रण गरिएका १७ वटा मोटरसाइकल कारबाही प्रक्रियामा रहेको छ। ट्राफिक प्रहरीले गत वर्ष २०८०/०८१ मा ६५ वटा मोटरसाइकललाई कारबाही गरी ६ लाख ५० हजार जरिबाना तिराएको थियो।

कारबाहीमा परेका मोटरसाइकल।

पछिल्लो समय मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठूलो आवाजमा मोटरसाइकल चलाउने, सडकमा मोटरसाइकलको स्टन्ट गर्ने, तीव्र गतिमा मोटरसाइकल चलाउने क्रम वृद्धि हुन थालेको ट्राफिक प्रहरीको विश्लेषण छ। ‘गत वर्ष वर्षभरमा ६५ वटा मोटरसाइकललाई कारबाही गरिएको थियो। यस वर्षको पाँच महिनामा ६१ वटा कारबाही र १७ वटा कारबाही प्रक्रियामा छ’, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘तथ्यांकले पनि वृद्धि भएको देखाएको छ, अब हामी नियन्त्रण गरेरै छाड्छौँ।’

अहिले साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकालेका मोटरसाइकल नियन्त्रण गरी कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने गरिएको छ। त्यसरी कारबाहीमा परेका मोटरसाइकलले १० हजार रुपैयाँ जरिबाना तिर्नुपर्छ। प्रहरीले मोटरसाइकल नियन्त्रण गरेपछि यातायात व्यवस्था कार्यालयबाट १० हजारको जरिबाना तिराउने, त्यसरी जरिबाना तिरेपछि पुरानो स्वरुपमा परिवर्तन गराएपछि अभिभावक वा सवारीधनीलाई जिम्मा लगाउने गरेको छ। प्रहरीले स्वरुप परिवर्तन गरेका साइलेन्सर पाइप, हेन्डल, स्टिकर, लाइट, सिट, लुकिङ ग्लासजस्ता स्वरुप परिवर्तन गरिएका सामाग्री जफत गर्ने गरेको छ।

मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकालेर चलाउँदा तीव्र गतिका कारण दुर्घटना हुने, स्टन्ट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने होडबाजीले ज्यानै जोखिममा हुने भएकाले यस्ता गतिविधि नियन्त्रणमा अभिभावकसमेत सचेत हुनुपर्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डित बताउँछन्।

‘हामीले निगरानी बढाउने हो, तर आफ्ना सन्तानलाई यस्ता गतिविधिमा लाग्नबाट रोक्न सचेत हुनुपर्छ’, उनले भने। उनका अनुसार सम्भावित क्षेत्रहरूसँगै सवारीको स्वरुप परिवर्तन गर्ने केही ग्यारेजहरूलाई समेत निगरानी गरिएको छ।

अहिले ठूलो आवाज निकालेर मोटरसाइकल चलाउनेमा युवा नै छन्। विशेष गरी १८ देखि ३० वर्ष उमेर समूहका युवा यो गतिविधिमा रमाउने गरेका छन्। प्रहरीले मोटरसाइकलको स्टन्ट गरी सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने तीननालाई नियन्त्रणमा लिई कारबाही गरेर छाडेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast