पोखरा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगीसमेतका मुद्दामा कास्की जिल्ला अदालतबाट बिहीबार रिहा भएसँगै काठमाडौँ जिल्ला अदालतमा शुक्रबार हाजिर हुँदैछन्। त्यसका लागि उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
उनको दिउँसो १ बजे फ्लाइट रहेको रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिए। बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा उनलाई रिहा गर्ने आदेश दिएको थियो। लगत्तै उनले सो बराबरको बैंक ग्यारेन्टी गरेर राति नै थुनामुक्त भएका थिए।
पोखराको स्वर्ण लक्ष्मी सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा उनीसहित ३९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गत साता मुद्दा दर्ता भएको छ। रुपन्देही, चितवन र पर्सामा पनि त्यहाँका सहकारी ठगीमा उनलाई प्रतिवादी बनाइएको छ।
काठमाडौँको मुद्दामा आफैँ अदालत हाजिर हुने भनेपछि कास्की प्रहरीले लामिछानेका परिवारको जिम्मा लगाएको थियो। कास्कीमा लामिछानेसहित पूर्व डिआइजी छविलाल जोशी, पूर्व सांसद मीना गुरुङसमेत सातैजना प्रतिवादीलाई धरौटीमा रिहा गर्न कास्की अदालतले आदेश दिएको थियो।
उनीहरूसहित ६३ प्रतिवादी विरुद्ध डेढ अर्ब बिगो माग दाबीसहित अदालतमा मुद्दा दायर छ।
यसैबीच, जाहेरवालाले अदालतको आदेश अनपेक्षित भएको प्रतिक्रिया दिएका छन्। सूर्य दर्शन सहकारी पीडित संघर्ष समिति अध्यक्ष किरण श्रेष्ठले सबैलाई छोड्ने आदेशप्रति अचम्मित भएको बताउँदै पुनरावेदनका लागि कानुनी परामर्श गर्ने बताए।