 नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष तथा शैक्षिक अभियन्ता नेत्र चापागाईँ। फाइल तस्बिर।
                             नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष तथा शैक्षिक अभियन्ता नेत्र चापागाईँ। फाइल तस्बिर। 
                                            काठमाडौँ- सार्वजनिक शिक्षा सुधारका लागि हप्ता दिनदेखि माइतीघर मण्डलामा उभिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ बिरामी भएका छन्। आफ्नो खुट्टा सुन्निदै गएको र ढाडमासमेत समस्या भएको चापागाईँले शनिबार साँझ हिमालप्रेसलाई जानकारी दिए।
चापागाईँ माइतीघर सडकपेटीछेउ बिहान १० देखि साँझ ५ बजेसम्म उभिन्छन्। दैनिक ७ घण्टा उभिँदा खुट्टा सुन्निन थालिसकेको उनले बताए। चापागाईँले भने, ‘स्वास्थ्य समस्या बढ्दै गएको छ। खुट्टा सुन्निएको छ। ढाडमा समस्या देखिएको छ। खाना रुच्न छाड्यो। आँखा पोल्न थालेको छ। राति सुत्न समस्या भएको छ। टाउको पनि दुखेको छ।’
सरकारले आफ्नो माग र धर्नाप्रति कुनै सुनुवाइ नगरेको उनले गुनासो गरे। उनले प्रारम्भिक बालविकास (ईसीडी) लाई विद्यालय संरचनामा ल्याउनुपर्ने, विद्यार्थीलाई दिइने वार्षिक ४ सय रुपैयाँ छात्रवृत्ति बढाउनुपर्ने, सामुदायिक विद्यालयलाई सय युनिटसम्म बिजुली र पानी निःशुल्क उपलब्ध गराउनुपर्नेजस्ता माग अघि सारेका छन्।
त्यस्तै विद्यालयले पाउने प्रशासनिक खर्च लगायत रकम बढाउनुपर्ने, निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने, शिक्षकलाई दलगत संगठनमा आबद्ध हुन दिन नहुने, पहाडी जिल्लाहरूमा आवासीय विद्यालय सञ्चालन गर्नुपर्ने, सामुदायिक विद्यालयका प्रधानाध्यापकले पाउने मासिक भत्ता वृद्धि गर्नुपर्ने, शिक्षा सुधारमा बजेट अभाव भए शैक्षिक सुधार कोष बनाउनुपर्नेलगायत उनको माग छ।
यसअघि उनले सातवटै प्रदेशको राजधानीमा उभिएर धर्ना दिएका थिए।

चापागाईँ किन धर्नामा छन्? यी हुन् कारण [भिडियो]

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 