काठमाडौँ- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सीमानाकाबाट भित्रिने पर्यटकहरू प्रहरी जाँचको झन्झटले आतंकित र निरुत्साहित भएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले प्रहरी जाँचको आतंकले पर्यटकहरू निरुत्साहित भएको भन्दै सहजीकरणका लागि सरकारसँग अनुरोध गरेका हुन्।
उनले पर्यटन प्रवर्द्धनका लागि नेपालले भारतको अयोध्यालगायत क्षेत्रमा सूचना केन्द्र सञ्चालन गर्न जरुरी रहेको समेत बताए। उनले पर्यटन प्रवर्द्धनका लागि नेपालले पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको समेत बताए।
उनले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास र अन्य मुलुकहरूसँग सहयोग लिनुपर्ने बताए। उनले गुणस्तरीय लगानी नभित्रिएसम्म गुणस्तरीय पर्यटक नभित्रिने जिकिर पनि गरे।
‘भारतको अयोध्या सबैभन्दा धेरै पर्यटक घुम्ने ठाउँ बनेछ‚ त्यहाँ नेपालको इन्फर्मेशन सेन्टर राख्यौँ भने त्यसले हाम्रो जनकपुर र अन्य क्षेत्रमा पनि पर्यटन प्रवर्द्धन हुनसक्ने देखिन्छ‚’ उनले भने, ‘कतिपय देशमा हाम्रो आफ्नो पूर्वाधार एकदमै कमजोर छ। पर्यटन प्रवर्द्धनको लागि सीमानाकामा इमिग्रेसनका, पूर्वाधारको र सीमाभित्र छिरिसकेपछि पर्यटकलाई ठाउँ ठाउँमा हुने ह्यासलहरू, अहिले प्रहरीबाट हुने चेकिङमा डिस्टर्वेन्स एकदमै बढेको छ। त्यसकारण डिस्करेजिङ इमेज छ। त्यतातिर पनि सहजीकरणका लागि अनुरोध गर्दछौँ।’
उनले पर्यटन प्रवर्द्धन गर्न नीतिगत सुधारसँगै संरचनागत सुधार आवश्यक रहेको बताए।