निर्मला पन्तको घटना अनुसन्धानका लागि समिति गठन

हिमाल प्रेस १६ पुष २०७९ ८:१६ | Saturday, December 31, 2022
निर्मला पन्तको घटना अनुसन्धानका लागि समिति गठन

कञ्चनपुर-​ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए। डीआईजी सिंह अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत छन्।

यसअघि उनी प्रहरी उपरीक्षक हुँदा यस घटनाको अनुसन्धानमा खटिएका थिए। गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सीआईबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन्।

उनीहरूलाई यस घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको छ। यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सीआईबी नै खटिएकाले पनि सीआईबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिए।

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम् पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएको थियो।

प्रकाशित: १६ पुष २०७९ ८:१६ | Saturday, December 31, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast