लन्डनको ओटु हलबाट सांगीतिक यात्रा सुरु गर्दै ‘कन्दरा’

हिमाल प्रेस १४ पुष २०८१ १७:४५ | Sunday, December 29, 2024
लन्डनको ओटु हलबाट सांगीतिक यात्रा सुरु गर्दै ‘कन्दरा’

काठमाडौँ- सांगीतिक ब्यान्ड कन्दराले सन् अंग्रेजी नयाँ वर्ष २०२५ देखि आफ्नो सांगीतिक यात्रा सुरु गर्ने भएको छ। ब्यान्डले जनवरी ४ मा पहिलो प्रस्तुति बेलायतको लन्डनस्थित द ओटुबाट सुरु गर्न लागेको हो।

सांगीतिक यात्राको सुरुवात नै बेलायतबाट हुन लागेकोले निकै उत्साहित रहेको कन्दराका भोकलिष्ट विवेक श्रेष्ठ बताए। उनले भने, ‘संगीत सर्जकका ड्रिम भेन्यू ओटुबाट हाम्रो अन्तर्राष्ट्रिय सांगीतिक टुर गर्न पाउनु खुसीको कुरा हो। कन्दराको सबै साथी बेलायतको कन्सर्टका लागि उत्साहित छौँ।’

नेपाली ब्यान्डका तर्फबाट ओटुमा प्रस्तुति दिने कन्दरा पहिलो ब्यान्ड हुनेछ। नेपाली कलाकारका रुपमा यसअघि सज्जनराज वैद्यले ओटुमा प्रस्तुति दिएका थिए।

लन्डनपछि जनवरीमै ब्यान्डले दुवई, कतार र हङकङमा कन्सर्ट गर्ने तयारी रहेको गायक श्रेष्ठले जानकारी दिए।

नयाँ वर्षमा कन्सर्टसँगै गीत पनि सार्वजनिक गर्ने ब्याण्डको तयारी छ। जनवरी १ तारिखमा ‘हुनेछ (द सङ अफ होप)’ सार्वजनिक गर्दैछ। गीतको शब्द तथा संगीत ब्याण्डका ड्रमर सुनिल थापाले तयार पारेका छन्।

माया, प्रेम, जीवन, संघर्ष, प्रकृति र स्थानविशेष गीतहरु गाउँदै आएको कन्दराको नयाँ गीत अन्यभन्दा पृथक हुने टिमको दाबी छ। नयाँ वर्षमा नवीन सोच र सकारात्मक उर्जा छर्ने उद्देश्यले आशावादी गीत सार्वजनिक गरिएको ब्यान्डको गायक विवेकको भनाइ छ। यसअघि ब्यान्डले ‘विचरा म’ बोलको गीत सार्वजनिक गरेको थियो।

गत कात्तिक २४ गते ठमेलस्थित एलओडी क्लबमा ब्याण्डले ‘पहिला घरदेश अनि परदेश’ थिममा सांगीतिक प्रस्तुति गरेपछि आफ्नो सक्रियता तीब्र बनाइरहेको छ। कन्दराले आफ्नो स्थापनाको तीन दशकलाई विशेष उत्सवका रुपमा मनाउने घोषणासहित गण्डकी, कोशी र बागमती प्रदेशमा सफलताका साथ कन्सर्ट प्रस्तुत गरिसकेको छ ।

कन्दराको वर्तमान टिममा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन्। सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन्।

प्रकाशित: १४ पुष २०८१ १७:४५ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast