बागमती नदी सभ्यता अभियन्ता वैद्यका नाममा फाउन्डेसन स्थापना

हिमाल प्रेस १५ पुष २०७९ १९:३० | Friday, December 30, 2022
बागमती नदी सभ्यता अभियन्ता वैद्यका नाममा फाउन्डेसन स्थापना

काठमाडौँ– बागमती नदी सभ्यता संरक्षणका अभियन्ता स्व. हुतराम वैद्यका नाउँमा हालै काठमाडौँमा एक फाउन्डेसन स्थापना गरिएको छ। ९४ वर्षको उमेरमा ९ वर्षअघि स्वर्गारोहण भएका चर्चित महाअभियन्ता वैद्यको स्मृतिमा उनकी स्व. धर्मपत्नीसमेतको नाउँ जोडेर ‘शारदा-हुतराम वैद्य फाउन्डेसन’ स्थापना गरिएको हो।

स्व. हुतराम वैद्य नेपालको पहिलो कृषि इञ्जिनीयर पनि थिए। दिगो कृषि विकास, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा कुरामा स्व. वैद्यले धेरै काम गरेका थिए। साथै बागमती नदी र काठमाडौँको सभ्यता संरक्षण हुनुपर्ने कुरामा रातदिन लागिपर्ने महाअभियन्ताका रूपमा पनि उनी चिनिन्छन्।

नेपालमा ज्येष्ठ नागरिक अधिकार प्राप्तिका लागि थुप्रै वर्ष अग्रणी वकालती भूमिका निभाएका उनले नेपालमा अलग्गै ‘ज्येष्ठ नागरिक मन्त्रालय’ तथा ‘ज्येष्ठ नागरिक आयोग’ चाहिने कुरामा जीवनपर्यन्त वकालत गरेका थिए।

स्व. वैद्यले नेपालको कृषि, जलसभ्यता तथा ज्येष्ठ नागरिक अधिकारका लागि पुर्‍याएको बहुआयामिक योगदानका विविध पक्ष थप उजागर गर्ने, उनका सुकीर्ति र अभियानलाई निरन्तरता दिने र उनका अनुकरणीय कार्यको थप प्रचारप्रसार तथा प्रकाशन गरी नयाँ पुस्तामाझ पुर्‍याउनेजस्ता उद्देश्य बोकेर फाउन्डेसन स्थापना गरिएको कुरा संस्थापिका मीना वैद्य पाण्डेले बताइन्।

प्रकाशित: १५ पुष २०७९ १९:३० | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast