चर्च ब्वाइजलाई झापा कपको उपाधि

हिमाल प्रेस ८ पुष २०८१ १८:५१
24
SHARES
चर्च ब्वाइजलाई झापा कपको उपाधि

झापा- झापा कपको उपाधि आज (सोमबार) चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ। उपाधि जितेसँगै चर्च ब्वाइजले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ।

उपविजेता एनआरटी क्लबले पाँच लाख प्राप्त गरेको छ। झापा–११ द्वारा विर्तामोडस्थित डोमालाल रंगशालामा भएको फाइनल खेलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। गत वर्ष झापा गोल्डकपको छैटौँ संस्करण पनि चर्च ब्वाइजले नै जितेको थियो।

खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै पहिलो गोल गर्न सफल भएका थिए। खेलको ४३औँ मिनेटमा चर्च ब्वाइजले अग्रतालाई दोब्बर बनायो। रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई विदेशी खेलाडी अर्मान्डले गोल गरेका थिए।

त्यसको लगत्तै एनआरटीले १ गोल फर्कायो। विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए।

खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले अर्को गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरेको थियो। खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भएका छन्। उनले नगद १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रुपमा छनोट भएका झापा–११ का प्रदिप बुढाथोकीले जनही ३५ हजार नगद प्राप्त गरेका छन्। ‘मस्ट भ्यालुएबल प्लेयर’ चर्च ब्वाइजका रोहन कार्की भए। उनले एक लाख रूपैयाँ प्राप्त गरे।

यसैबीच झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले २५ हजार रूपैयाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो।

प्रकाशित: ८ पुष २०८१ १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast