रानी जमरा कुलरियाको लम्की नहरमा छाडियो पानी [तस्बिरहरू]

पदमराज भट्ट १५ पुष २०७९ १५:१८ | Friday, December 30, 2022
रानी जमरा कुलरियाको लम्की नहरमा छाडियो पानी [तस्बिरहरू] रानी जमरा सिँचाइ आयोजना।

धनगढी- राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको लम्की विस्तार नहरमा पानी परीक्षण गरिएको छ। नहर निर्माण कार्य सम्पन्न भएपछि पानी परीक्षण गरिएको आयोजना कार्यालयले जनाएको छ।

कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरिया गरी तीनवटा परम्परागत कुलालाई आधुनिकीकरण गर्ने उद्देश्यसहित सन् २०११ मा आयोजना सुरु भएको हो।

योसँगै आयोजनाले थप खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने भन्दै लम्की विस्तार नहरको निर्माण गरेको हो। मुख्य नहरको डुँडेझारीबाट पश्चिम पथरीया नदीसम्म १४.६५ किलोमिटर नहर निर्माण भएको छ, जसमध्ये ६ किलोमिटर नहरको संरचना पक्की छ।

नहर निर्माण भएपछि लम्कीचुहा नगरपालिकाको तीनवटा वडाको ६ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको रानीजमरा कुलरिया सिँचाइ आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले बताए।

२०७३ साउन २३ गते आयोजनासँग सम्झौता गरी कालिका/कुमार जेभीले नहर निर्माणको काम थालेको थियो। २०७५ असार ३१ गते भित्रै निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख भए पनि विविध कारणले नहर निर्माणको काममा ढिलाइ भएको निर्माण पक्षले जनाएको छ। नहर निर्माणको काम ६ पटक म्याद थप भएको थियो।

निर्माण कम्पनीका प्रतिनिधि सचित्र पोखरेलले रुख कटान र त्यसको जरा उखेल्ने काममा ढिलाई हुनुका साथै जग्गाको मुआब्जा वितरणमा समेत ढिलाई भएका कारण नहर निर्माणको काम ढिलो हुन गएको बताए।

‘रुख कटान र मुआब्जा वितरणले धेरै समय काम रोकियो’ उनले भने–‘जसका कारण समयमा काम सम्पन्न गर्न सकिएन।’नहर निर्माणका क्रममा २ हजार ६८८ रुख काटिएका थिए भने ३० हेक्टर नम्बरी र १५ दशमलव ५ हेक्टर ऐलानी गरी ४५ दशमलव ५ हेक्टर जमिनको मुआब्जा वितरण गरिएको थियो। आयोजनाले मुआब्जा वाफत ८५ करोड रुपैयाँ वितरण गरेको जानकारी दिएको छ।

 

प्रकाशित: १५ पुष २०७९ १५:१८ | Friday, December 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast