साहसिक पर्यटन प्रवर्द्धन गर्न पोखरामा बेलुन महोत्सवको तयारी

हिमाल प्रेस ६ पुष २०८१ १९:१९
8
SHARES
साहसिक पर्यटन प्रवर्द्धन गर्न पोखरामा बेलुन महोत्सवको तयारी

पोखरा – नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव पर्यटनको राजधानी पोखरामा हुँदैछ। पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सवको हुन लागेको हो।

यही ९–१७ पुससम्म फेवाताल किनार फेवा फाँटमा उक्त महोत्सव हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा परिषद् अध्यक्ष तारानाथ पहारीले जानकारी दिए। उनका अनुसार महोत्सवमा नेपालसहित १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरुले भाग लिने छन्।

महोत्सव पामे क्षेत्रको लौरूकदेखि चंखपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ। फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए।

बिहान ३ घण्टा ब्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुने उनले बताए। बेलुका विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुनको उडान भर्ने छन्। राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा सांगीतिक कार्यक्रम हुने छन्।

महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फूड स्टल, मेला र विभिन्न खेल समेत हुनेछन्। महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन क्रूज, बेली नृत्य लगायत चप स्वानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने छन्।

महोत्सवमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य आयोजकको छ। करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन्। हट एयर बेलुनमा सामान्यतः ४० मिनेटको लामो उडान हुने गर्छ। उडानमा मनोरम हिमशृङ्खलासहित, पोखराको दृश्यावलोकन एवं सूर्योदय र सूर्यास्त देख्न सकिनेछ।

महोत्सव विशेष आकर्षणरुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान ः पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्य, नाइट बेलुन ग्लो ः बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौंको कुमारी नृत्य र बर्ज योगीनी लगायतका कार्यक्रम प्रस्तुत हुनेछन्।

उद्घाटनअघि पोखराको भकुण्डेदेखि विभिन्न जनजातिको भेषभुषा सहितको झाँकी समेत प्रदर्शन हुनेछ।

पोखरामा सन् २०१८ देखि व्यावसायिकरुपमा हट एयर बेलुन संचालन हुदै आएको थियो। महोत्सवको ब्रान्ड एम्बासडर राजेश हमाल र प्रियंका कार्की हुन्।

पोखरा र यस आसपासका सम्भावित विभिन्न साहसिक खेलकुदको पहिचानसहित पोखरालाई साँच्चिकै साहसिक खेलकुदको गन्तव्य बनाउन यस कार्यकमले थप टेवा पुग्ने परिषद् अध्यक्ष पहारीले बताए।

प्रकाशित: ६ पुष २०८१ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast