सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : सभामुख घिमिरे

हिमाल प्रेस ३० मंसिर २०८१ १४:०६ | Sunday, December 15, 2024
सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : सभामुख घिमिरे फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उधौली, यःमरी पुन्ही तथा धान्यपूर्णियामा पर्व २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै यी पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन्।

‘उधौली पर्वले मानिस र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई बलियो बनाउँदै प्रकृतिप्रति धन्यवाद व्यक्त गर्दछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘उधौली पर्वले चिसो मौसमको सुरूवात र न्यानो ठाउँतर्फ गन्तव्य बनाउने परम्परालाई जनाउने भएकाले कृषि चक्रको समापन र नयाँ चक्रको तयारीको सङ्केतका रूपमा बुझ्न सकिन्छ।’

नेवाः समुदायमा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाको दिनमा मनाइने ‘यःमरी पुन्ही’ विशेष सांस्कृतिक पर्व भएको र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्ही धुमधाम साथ बनाउने प्रचलन रहेको सन्देशमा छ। सन्देशमा भनिएको छ, ‘यःमरी पर्वले समुदायबीचको आत्मीयता, परिवारमा समर्पण र धार्मिक आस्थालाई बलियो बनाउने विश्वास लिएको छु।’

नेपाल विविधायुक्त बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको र संविधानको मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएकोबारे सबै जानकार भएको सन्देशमा छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रूपमा मनाउँछन्।

उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन्। किरातभित्रका जातजातिले उधौलीपर्वलाई फरकफरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने गरिन्छ।

प्रकाशित: ३० मंसिर २०८१ १४:०६ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast