सरकारी गाडीमा गाँजा, हवाई फायरमार्फत नियन्त्रणमा

हिमाल प्रेस १९ मंसिर २०८१ १२:३६
28
SHARES
सरकारी गाडीमा गाँजा, हवाई फायरमार्फत नियन्त्रणमा

इटहरी- सुनसरीमा सरकारी नम्बर प्लेटको स्कारपिओलाई हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ धरान १३ बाट हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाकाअनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट भएको स्कारपिओ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद भएको हो।

‘बरामद भएका गाडीहरू सरकारी गाडीहरू हुन् कि होइनन् भन्नेबारे थप अनुसन्धान भएरहेको छ,’ एसपी तिम्सिनाले भने, ‘फेक सरकारी नम्बर प्लेट बनाएर प्रयोग गरिएको हो कि भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।’

उनका अनुसार चार राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनास्थलबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको छ। अर्को गाडीका सवारी चालक तत्काल फरार भएका छन् ।

प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राईफलबाट ४ राउण्ड फायर गरेको थियो। ‘जसमध्ये एक राउण्ड गोली उक्त गाडीको पछाडि रहेको सिसा भन्दा माथिलो भागमा लागेको र अर्को गाडीलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो,’ एसपी तिम्सिनाले भने।

उक्त गाडीका चालकलाई नियन्त्रणमा लिनका निम्ति प्रहरीले सबैतिरका नाकामा निगरानी बढाएको छ। प्रहरीका अनुसार बा १ झ ५१२७ नम्बरको गाडीमा प्लाष्टिकमा भएको ३६५ केजी गाँजा र प्लाष्टिकबाहेक जम्मा ३६० केजी गाँजा बरामद गरिएको छ।

यसैगरी बा १ झ ४६०५ नम्बरको गाडीमा भएको गाँजा प्लाष्टिकसहित ३३५ केजी र प्लाष्टिकबाहेक जम्मा ३३० केजी गरी प्लाष्टिकसहित जम्मा तौल ७ सय केजी गाँजा बरामद गरिएको एसपी तिम्सिनाले जानकारी दिए।
पक्राउ परेका विश्वकर्मालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थपको तयारी भइरहेको प्रहरीको भनाइ छ।

यो आर्थिक वर्षमा मात्रै ६ हजार १९७ केजी लागूऔषध बरामद गरिएको सुनसरी प्रहरीको तथ्यांकमा उल्लेख छ। लागूऔषध ओसारपसारमा संलग्न सवारी साधनलाई लागूऔषध ऐन अन्तर्गत जफत गरिने प्रहरीले जनाएको छ।

‘हालसम्म लागूऔषध ऐन अन्तर्गत जफत गरिएका सवारी साधन चार करोड २५ लाख रुपैयाँका रहेका छन्,’ एसपी तिम्सिना भन्छन्, ‘पछिल्लो समय सुनसरी प्रहरीले लागूऔषधलाई नियन्त्रणमा लिनका निम्ति प्रहरीले विशेष निगरानी बढाएको छ।

गाँजा नियन्त्रणका निम्ति खटिएका इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेगुका अनुसार अर्को गाडीलाई रोक्ने क्रममा प्रहरीलाई नै पेल्ने अवस्थामा आएपछि गोली चलाउन बाध्य भएको हो।’ उनले भने, ‘गोली चलाएपछि अलिक तलतिर गएर गाडी छाडेर फरार भएको अवस्था छ, हामीले खोजी गरिरहेका छौँ।’

बा १ झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेका छन्। उक्त गाडी नियन्त्रणमा लिनका लागि प्रहरीले निकै चुनौती व्यहोर्नुपरेको उनले बताए।

प्रकाशित: १९ मंसिर २०८१ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast