काठमाडौँ- नेपाल नेत्रहीन क्रिकेट विश्वकपको सेमिफाइनलमा आइतबार घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित भएको छ। पाकिस्तानले समूह चरणमा पनि नेपाललाई १० विकेटले हराएको थियो। यसैगरी नेपालले लिग चरणमा श्रीलंकासँग ७० र बंगलादेशसँग ६७ रनले पराजित भएको नेपालले अफगानिस्तालाई १०८ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो।
नेपालले प्रस्तुत गरेको ९८ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो। पाकिस्तानका लागि कम्रन अख्तरले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले ६३ रन बनाए। यसैगरी बाबर अली ३२ रनमा अविजित रहे।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो। नेपालका लागि दुर्गादत्त पौडेलले ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पाकिस्तानका लागि माती उल्लाहले तीन तथा बाबर मुनिरले एक विकेट लिए।