इटहरी- इटहरीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा हुँदा एक पुरुषको मृत्यु भएको छ। आज (बिहीबार) साँझ ५ बजेतिर दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार इटहरी-१३ खनारस्थित काली मन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो पार गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन्।
दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको छ। घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा साँझ ६ बजेतिर मृत्यु भएको भण्डारीले जानकारी दिए। भण्डारीले भने, ‘घाइते भएका तीन जनाको उपचार भइरहेको छ।’
सोही स्कुटर पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको छ। घाइते रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ। मृतक गोपाल र बबिता ससुरा–बुहारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीले जानकारी दिए।
यसै गरी मोटरसाइकल चालक कोसी गाउँपालिका-८ बस्ने अन्दाजी २६ वर्षीय आशिक आलम र पछाडि सवार इटहरी १४ बस्ने अन्दाजी २५ वर्षीया विनिता पाठक घाइते भएका छन्। उनीहरूको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ। आशिकको टाउकोमा चोट लागेको छ भने विनिताको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।