आईपीएलमा किन परेनन् बंगलादेशका कुनै पनि खेलाडी?

हिमाल प्रेस १३ मंसिर २०८१ १४:५५
34
SHARES
आईपीएलमा किन परेनन् बंगलादेशका कुनै पनि खेलाडी?

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा बंगलादेशका कुनै पनि क्रिकेटरले खेल्ने छैनन्।

सन् २०२० पछि यो पहिलोपटक हो जसमा बंगलादेशका कुनै पनि खेलाडी आईपीएलमा सहभागी हुने छैनन्। पछिल्लो समय भारत र बंगलादेशबीचको सम्बन्ध राम्रो देखिएको छैन।

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देश छोडेर भारतमा शरण लिनुपर्ने अवस्था आएदेखि दुवै मुलुकबीच अविश्वासको वातावरण सिर्जना भएको हो। भारत र बंगलादेशबीच अविश्वास बढेका कारण आईपीएलका कुनै पनि फ्रेन्चाइजी टिमले बंगलादेशका खेलाडीमाथि बोली लगाएनन्।

दुवै मुलुकबीच बढेको राजनीतिक तनावका कारण बंगलादेशका कुनै पनि खेलाडी आईपीएलको हिस्सा बन्न नसकेको कतिपयको बुझाइ छ। बंगलादेशमा हिन्दूहरूसँग भइरहेको भेदभावका कारण पनि आईपीएल टिमका मालिकहरूले बंगलादेशका खेलाडीमाथि बोली लगाउनबाट सतर्क भएको बुझाइ पनि कतिपयको छ।

केहीले यसलाई आईसीसी अध्यक्ष जय शाहको निर्णय बताएका छन्। २०२४ को आईपीएलमा पनि मुस्तफिजुर रहमानले मात्र ठाउँ पाएका थिए। उनी चेन्नई सुपर किंग्सबाट आईपीएल खेलेका थिए।

२०२५ को आईपीएलको लिलामीका लागि १ हजार ५७४ खेलाडीको नाम सूचीमा राखिएको थियो। जसमध्ये ५७४ जनालाई १० टिमले ‘सर्टलिस्ट’ गरिएको थियो। ती ५७४ मध्ये २०८ खेलाडी भारतबाहिरका थिए।

क्रिकेट जगतकै सबैभन्दा ठूलो लिग ठानिएको आईपीएल क्रिकेटरका लागि आफ्नो प्रतिभा देखाउने उपयुक्त प्लेटफर्म हो। यो लिगमा पाकिस्तानका खेलाडीलाई पनि समावेश गराउने गरिएको छैन। २००७ मा भएको आईपीएलको पहिलो सिजनमा पाकिस्तानका खेलाडीलाई समावेश गरिको थियो। सन् २००८ मा मुम्बईमाथि भएको आतंकवादी आक्रमणपछि दुवै मुलुकबीचको राजनीतिका साथै अन्य सम्बन्ध पनि प्रभावित भयो। जसका कारण क्रिकेटसँग जोडिएको सम्बन्ध पनि रोकियो।

मुम्बई आक्रमणपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएलमा पाकिस्तानी खेलाडीलाई समावेश गर्न रोक लगायो।

२०२५ को आईपीएलको लिलामीका लागि बंगलादेशका १३ खेलाडीले नाम दर्ता गराएका थिए। जसमध्ये रिशद हुसैन र मुस्तफिजुर रहमानमात्र सर्टलिस्टमा परे। तर, यी दुवै खेलाडीमाथि पनि कुनै टिमले बोली लगाएनन्।

रिशदले आईसीसी टी–२० विश्वकपमा राम्रो प्रदर्शन गर्दै १४ विकेट लिएका थिए। यो प्रदर्शनपछि उनी विश्वसामु चिनिएका थिए। तर, भारतसँग भएको तीन टी–२० म्याचको श्रृंखलामा उनले केवल तीन विकेट लिए। सम्भवतः यस कारण नै उनी आईपीएलको हिस्सा बन्न सकेनन्।

तर, आईपीएलको सात सिजन खेलेका रहमानमाथि कसैले बोली नलगाउनु अप्रत्याशीत देखिएको छ। अघिल्लो आईपीएलमा १४ विकेट लिएका उनको बेस प्राइस दुई करोड राखिएको थियो। यद्यपि कुनै पनि टिमले उनीमाथि बोली लगाएन।

रहमानको नाम दोस्रो दिनको लिलामीमा आएको र त्यो बेलासम्म फ्रेन्चाइजीहरूको पैसा सकिएको पनि बताइएको छ। यसका साथै अघिल्लो आईपीएलमा उनलाई बीचबाटै बोलाइएको थियो। यसकारण पनि कुनै टिमले बोली नलगाएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: १३ मंसिर २०८१ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast