काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबार शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपीक्षय हित र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो।
मन्त्री ताभियोले नेपालको जलविद्युत्, फोहरमैला व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा सहयोग बढाउन आफूहरु तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए।
प्रधानमन्त्री ओलीले फिनल्याण्डबाट नेपालको विकासमा हुँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए। नेपाल र फिनल्याण्डको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठका अवसरमा मन्त्री ताभियोको नेपाल भ्रमण भएको हो।
भेटका अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत ऋना ऋक्का हेइक्का, परराष्ट्र मन्त्रालयका सहचिव गणेश ढकाललगायत सहभागी थिए।