कम्बोडियाबाट आएर सभामुखले भने : कम्बोडियासँग हामीले व्यापार गर्न सकिने रहेछ

हिमाल प्रेस १२ मंसिर २०८१ ६:२६
4
SHARES
कम्बोडियाबाट आएर सभामुखले भने : कम्बोडियासँग हामीले व्यापार गर्न सकिने रहेछ

काठमाडौँ- कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरे स्वदेश आइपुगेका छन्। पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट मंगलबार साँझ ८ बजे काठमाडौँ उत्रिएका हुन्।

सभामुखलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरेका थिए । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को ११ औँ पूर्ण सत्रमा सहभागी हुन गएका सभामुख घिमिरेले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गरेका थिए ।

सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको बताउँदै नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्द्धन गर्न सफल भएको उल्लेख गरे । ‘नेपाल विश्वभरका जनताहरू शान्ति, समृद्धि र मेलमिलापमा जीवन बिताउन् भन्ने चाहन्छ,’ विमानस्थलमा सभामुख घिमिरेले भने, ‘नेपालले पछि दशक लामो गृहयुद्धलाई शान्तिपूर्ण वार्ताबाट टुंगोमा पुर्‍याएको उपलब्धि विश्वका अन्य देशलाई पनि प्रेरणादायी बन्न सक्दछ । नेपालको मौलिक शान्ति प्रक्रियाको सफलता प्रवर्द्धन गर्न भ्रमण सफल भएको छ ।’

कम्बोडिया पनि नेपालजस्तै घरेलु द्वन्द्वलाई शान्तिपूर्ण तवरले अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउँदै सभामुख घिमिरेले मेलमिलापबाटै पुनर्निर्माण र समृद्धि सम्भव हुने धारणा राखे । उनले युद्धबाट बाहिर निस्कँदै सीमित कम्बोडियाली नेताहरूले सुरु गरेको समृद्धि यात्राबाट पाएको सफलता नेपालका लागि सिकाइको विषय हुने बताए । आफूले विश्व समुदायलाई राजनीतिक संवाद, समावेशिता र मेलमिलापबाटै शान्ति स्थापना गर्न सकिने धारणा राखेको उनले उल्लेख गरे ।

सभामुखले कम्बोडियाको सरकारले नेपालप्रति देखाएको सकारात्मक भावनाको उच्च कदर गरे । सरकार–सरकार र जनस्तरबाट पनि दुई देशबीच व्यापार लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने उनको भनाइ थियो ।

कम्बोडियामा रहँदा सभामुखले प्रधानमन्त्री सम्देच हुन मानेट, माथिल्लो सदन सिनेटका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री सम्देच हुन सेन, कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष खुऔन सुदारीसँग भेट गरेका थिए । उनले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् ९आईपीटीपी०को ११ औँ पूर्ण सत्रमा सम्बोधन गरेका थिए ।

प्रकाशित: १२ मंसिर २०८१ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast