काठमाडौँ- नेपालका लागि इजरायली राजदूत स्मुलिक ऐरी बासले नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सुन्दरीजलस्थित संग्रहालय पुगेर राजदूत बासले स्वर्गीय कोइरालाको शालिकमा माल्यर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
चार दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका उनले पहिलो सार्वजनिक भ्रमण सुन्दरीजलस्थित बीपी संग्रहालयबाट गरेको इजरायली दूतावासले जनाएको छ।
६४ वर्षअघि कोइरालाको भ्रमणका क्रममा नेपाल–इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापित भएको भन्दै राजदूत बासले स्मरण गरेका छन्। नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापित हुनुमा दूरदर्शी नेता कोइरालाको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरेका छन्।
‘मेरा अधिकारी र म दुवै देशबीच रहिआएको सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन प्रतिबद्ध रहने छु,’ उनले भने।
नेपाल र इजरायलबीच दीर्घकालदेखि मित्रवत् सम्बन्ध रहेको बताउँदै राजदूत बासले विभिन्न समयमा भएका उच्चस्तरीय भ्रमणहरूले यसलाई पुष्टि गरेको उल्लेख गरे।
इजरायललाई राष्ट्रको मान्यता दिने नेपाल दक्षिण एसियाको पहिलो मुलुक भएको उनले स्मरण गरेका छन्।
तत्कालीन प्रधानमन्त्रीहरू कोइराला र डेभिड बेन–गुरिअनको दूरशदर्शीताले दुवै मुलुकबीच स्थापित भएको कूटनीतिक सम्बन्ध हालसम्म कायम रहेको राजदूत बासले उल्लेख गरे।
कृषि, शिक्षालगायतका क्षेत्रमा भइरहेका सहकार्यले दुवै देश लाभान्वित भइरहेको उनले बताएका छन्।
संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले सन् १९६० मा इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।