काठमाडौँ- पाँचदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई राष्ट्रपति भवन, शीतल निवासमा विशेष समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरेका हुन्। उनी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।
सोही कार्यक्रममा साथै आएकी जनरल द्विवेदीकी धर्मपत्नी एवं भारतीय आर्मी वाइभ्स वेलफेयर एसोसियसन (आवा) की अध्यक्ष सुनिता द्विवेदी र सैनिक श्रीमती संघ (नावा) की अध्यक्ष निता क्षेत्री सिग्देलबीच भद्रकालीस्थित संघको कार्यालयमा आपसी सम्बन्ध विस्तारको विषयमा भेटघाट भएको थियो।
दुईपक्षीय भेटअघि सुनितालाई पञ्चकन्याले स्वागत गरेको थियो। त्यसपछि उनीसँग दुईपक्षीय वार्ता र दुवैतर्फको संघको गतिविधिबारे छलफल भएको थियो। छलफललगत्तै दुई मुलुकको मौलिक संस्कृति झल्कने नृत्य प्रस्तुत भएको थियो।
उक्त अवसरमा सैनिक श्रीमती संघले सञ्चालन गरेका विविध कल्याणकारी गतिविधिहरूका बारेमा जानकारी गराइएको थियो। सेवा नै परम धर्म भनेर सेनामा रहेकाहरूका अशक्त बालबालिकालाई पढाउने, पढाउन खर्च दिने, विविध प्रकोपमा परेकालाई सघाउने, सेनामा आश्रित परिवारलाई दक्षताको प्रशिक्षण दिने जस्ता कार्यहरु पनि देखाइएको थियो।
आधुनिक कृषि, ब्युटिसियन, बेकरी, सिलाई बुनाईलगायत करिब एक दर्जन फरकफरक प्रशिक्षण दिने काम पनि उल्लेख भएको थियो। त्यहाँ गतिविधि र परम्पराको विषयलाई पनि छलफलको एजेण्डामा राखिएको थियो। उनलाई उपहारको रुपमा पानस दिएर हिन्दुत्वको महत्व पनि दर्शाइएका थिए।
नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप दशकौँदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको र यस्तो सहकार्य जुटेको विषयमा पनि अध्यक्ष निताले जानकारी गराएकी थिइन्।