उपनिर्वाचन : ३१ जनाले लिए उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन

हिमाल प्रेस ५ मंसिर २०८१ २१:०२
12
SHARES
उपनिर्वाचन : ३१ जनाले लिए उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन

काठमाडौँ- स्थानीय तहको उपनिर्वाचनमा मनोनयन पत्र दर्ता गराएका ४१० मध्ये ३१ जनाले बुधबार उम्मेदवारी फिर्ता लिएका छन्।नाम फिर्ता लिएसँगै उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशन गरिएको छ।

निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र गरी ४१० जनाले उम्मेदवारी दर्ता गरेका थिए।

यस्तै ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमश: नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन्। रुकुम (पूर्वी भाग) जिल्ला पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।

आयोगका अनुसार निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३७६ जना उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको छ।

स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वि.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको आयोगको भनाइ छ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज (बुधबार) उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम थियो। मतदान मंसिर १६ गते आइतबारका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ।

निर्वाचन कार्यक्रमअनुसार बिहीबारदेखि मंसिर १३ गते राति १२ बजेसम्म उम्मेदवारहरूले प्रचारप्रसार गर्न सक्नेछन्। १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको आयोगले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८१ २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast