उपनिर्वाचनका लागि माओवादी केन्द्रद्वारा उम्मेदवारको नाम अनुमोदन

हिमाल प्रेस २६ कार्तिक २०८१ १५:५६ | Monday, November 11, 2024
उपनिर्वाचनका लागि माओवादी केन्द्रद्वारा उम्मेदवारको नाम अनुमोदन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि तल्ला समितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन पार्टी पङ्क्ति र जनसमुदायलाई आग्रह गरेको छ।

आगामी मङ्सिर १६ गते स्थानीय तहका विभिन्न ४४ स्थानमा उपनिर्वाचन हुन लागेको छ। निर्वाचनमा पार्टीका तर्फबाट तय भएका उम्मेदवारलाई विजयी गराउने योजनासमेत तय भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

त्यस्तै, बैठकले आगामी मङ्सिर मसान्तसम्ममा पालिका सम्मेलन सम्पन्न गर्ने र खबरदारीसभा गर्ने निर्णय बैठकले गरेको छ। जनपरिचालनसहित गरिने खबरदारीसभाले सुशासनको पक्षमा दबाव दिने प्रवक्ता सापकोटाको भनाइ थियो। यसैगरी आगामी पुस २ गतेका लागि पार्टीको केन्द्रीय समितिको बैठक बस्ने गरी आवश्यक तयारी गरिएको उनले बताए।

अग्रगमन र परिवर्तनको पक्षमा संविधान संशोधन हुनुपर्नेमा प्रवक्ता सापकोटाले जोड दिए। उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा पार्टीले जोड दिएको स्पष्ट पारे। जनताबाट निर्वाचित भएर आउने सांसदहरू नीति निर्माणमा केन्द्रीत हुने र विषय विज्ञलाई मन्त्री बनाए मात्रै जनताले अपेक्षा गरे अनुसारको विकास र आर्थिक समृद्धि हुने माओवादी केन्द्रको ठहर छ।

प्रकाशित: २६ कार्तिक २०८१ १५:५६ | Monday, November 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast