एयर इण्डियाको विमानमा बम राखिएको हल्लामात्रै, उडान नियमित

हिमाल प्रेस १२ कार्तिक २०८१ १८:२७
14
SHARES
एयर इण्डियाको विमानमा बम राखिएको हल्लामात्रै, उडान नियमित प्रतीकात्मक तस्बिर।

काठमाडौँ- पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन्। अज्ञात समूहबाट एक साताको अवधिमै नेपालमा दुईपटक यस्तो अफवाह फैलाइएको हो।

काठमाडौँबाट भारतको नयाँदिल्ली आज (सोमबार) उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको हल्लापछि विमानमा सवार यात्रुलाई ओरालेर जाँच गरिएको थियो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार एयर इण्डियाको विमानमा बमको हल्लापछि जाँच भए पनि कुनै शंकास्पद वस्तु फेला परेको छैन।

‘भारतबाट नेपाल आउने विमानमा बम राखिएको हल्ला आइरहेको छन् तर अहिलेसम्म त्यस्तो कुनै शंकास्पद वस्तु फेला परेको छैन,’ प्रवक्ता कार्कीले भने। अब जहाजले नियमित उडान गर्ने तयारी छ।

एयर इण्डियाको एआई-२१६ विमानमा बमको हल्लापछि विमानको जाँच गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

दिउँसो २ बजे काठमाडौँ विमानस्थलमा अवतरण भएको एयर इण्डियाको विमानमा बम राखेको अज्ञात समूहबाट जानकारी आएपछि नेपाली सेना र नेपाल प्रहरीको विशेष टोलीले जाँच गरेको हो। सो विमान काठमाडौँबाट १५८ यात्रु लिएर दिल्ली उड्ने तयारीमा थियो।

यसअघि यही कात्तिक ६ गते भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको विस्फोटक पदार्थ निष्क्रिय गर्ने विशेष टोलीले खानतलासी गरेको थियो।

भारतको नयाँदिल्लीबाट भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा जाँच गरिएको थियो। उक्त विमानमा पनि कुनै शंकास्पद वस्तु फेला परेको थिएन।

प्रकाशित: १२ कार्तिक २०८१ १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =