धरानमा मादलको बिक्री बढ्दो

हिमाल प्रेस १२ कार्तिक २०८१ ७:११ | Monday, October 28, 2024
धरानमा मादलको बिक्री बढ्दो

सुनसरी- तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ। पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ।

धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताउँछन्। विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्मका मादल बिक्रीका लागि राखिएको बताए।

उनले भने, ‘मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ। तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ। एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ।’ उनका अनुसार लक्ष्मी पुजाको दिनदेखि मादल बेच्न भ्याईनभ्याई हुन्छ। हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादल बिक्री गर्दै आएका छन्।

धरान उपमहानगरपालिका-२ छाता चोकका सुमन चौधरी अरू समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन्।

२० वर्षदेखि उनले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आएको छ। उनले भने, ‘आधुनिक परिवर्तनसँगै चाडपर्व र सांस्कृतिक कार्यक्रममा गीत संगीत, आधुनिक वाद्यवादन प्रयोग गर्न डिजिटल साउण्ड सिस्टम प्रयोग गर्नेहरु पनि अहिले मादल किन्न खोजी गर्दै आउने गरेका छन्।’

तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उनको भनाइ छ। तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको उनले बताए।

उनले भने, ‘अरू समयमा महिनामा २-४ वटा मात्र बिक्री हुने गरेको मादल तिहारको समयमा मात्र एक लाख रुपैयाँ बढीको बिक्री हुने गरेको छ।’

भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उनले पसलमा तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए।

नौ वर्षदेखि मादलसँगै खुकुरी बेच्दै आएका इटहरी उपमहानगरपालिका-६ का भेषराज अधिकारील तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए।

उनका अनुसार विशेषगरी सुनसरी र पूर्वी पहाड पाँचथर, तेह्रथुमलगायतका विभिन्न सहर र गाउँमा मादलको धेरै माग हुने गरेको छ।

प्रकाशित: १२ कार्तिक २०८१ ७:११ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast