मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव

हिमाल प्रेस ५ कार्तिक २०८१ १४:०० | Monday, October 21, 2024
मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव

काठमाडौँ-  प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा अक्टोवर १८ अर्थात् कात्तिक २ देखि पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव चलिरहेको छ। मुस्ताङ पारम्परिक संगीत, नृत्य, विभिन्न सांस्कृतिक परम्पराका लागि प्रख्यात छ। सोही कलालाई चित्रकारहरूमाझ बाँड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिका ट्रिपल पी गुरुङले बताए। महोत्सव कार्तिक ८ अर्थात् अक्टोवर २४ सम्म चल्नेछ।

महोत्सवमा मुस्ताङका मार्फा, थिनी, कागबेनी र जोमसोमलगायतका स्थानमा यी कार्यक्रमहरू गरिनेछ। महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम गरिनेछ।

महोत्सवको अर्को आकर्षण ‘ट्राभलिङ किम्फ’ रहेको छ। अक्टोबर २० देखि २४ तारिखसम्म हरेक साँझ दुई घण्टा हिमाली क्षेत्रका फिल्महरू देखाइने छ। यो कार्यक्रमलाई काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले संयोजन गरेकाे छ।

महोत्सवमा अन्तर्राष्ट्रिय चित्रकारहरू थाइल्यान्डबाट डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डबाट इवा क्रुएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जामपेल छेदा, इन्डोनेसियाबाट एमी गो र ताइवानबाट छेङ हान–वेनलगायतले सहभागिता जनाउने भएका छन्। यस्तै नेपालका चित्रकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नविन नाल्बो र आकाश गुरुङले पनि आफ्नो प्रतिभा बाँड्नेछन्।

नेपाल पर्यटन बोर्ड प्रवद्र्धन साझेदार रहेको महोत्सवको प्रायोजन ओम्स होम, रेडहाउस र ठमेल भिल्ला होटलले गरेका छन् भने सहयोगीमा युरोपियन युनियन, स्वीस सरकार विकास सहयोग एसडीसी, दलाइ ला, यति एयरलाइन्स, शेर्पा ब्रुअरी, हार्मोनिक लिबरेसन, होटल मस्र्याङ्दी रहेको छ।

प्रकाशित: ५ कार्तिक २०८१ १४:०० | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast