बाढीपीडित ३ सय ५२ परिवारलाई स्थानान्तरण

हिमाल प्रेस २ कार्तिक २०८१ १५:५७
8
SHARES
बाढीपीडित ३ सय ५२ परिवारलाई स्थानान्तरण

काठमाडौँ- सरकारले बाढीपहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन थालेको छ। सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीले बाढीपहिरोबाट निकै क्षति भएका पालीकाहरुमा स्थायी आवास निर्माणका लागि भौगर्भिक अध्ययन सुरु गरिएको जानकारी दिएका हुन्।

बाढीपहिरोजस्ता प्रकोपबाट जोखिममा रहेका बस्तीको पहिचान गरी विस्थापित भएका परिवारहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने उनले बताए। हालसम्म जोखिममा रहेका धनकुटा, लमजुङ, संखुवासभा, सिन्धुपाल्चोक, ताप्लेजुङ, बझाङ, अर्घाखाँची, तनहुँ, डोटी र धादिङका ३ सय ५२ परिवारलाई स्थानान्तरण गरिएको छ।

त्यस्तै १६ वटा जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन गरी पुनस्र्थापना प्रक्रियामा रहेको र ३४ स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन गरी प्रतिवेदन प्राप्त भएको गृहसचिव दुवाडीले जानकारी दिए।

उनले जाजरकोट र रुकुम(पश्चिम)मा भूकम्पपछि १३ वटा पालिकामा जोखिमको प्रारम्भिक भौगर्भिक अध्ययन सम्पन्न गरी प्रतिवेदन तयार गरेको उल्लेख गरे। प्राकृतिक विपद् जोखिम रहेका झापा, महोत्तरी, सर्लाही, सुर्खेतलगायतका स्थान गरी ४९ वटा स्थानमा स्मार्ट साइरन जडान कार्य सम्पन्न भएको दुवाडीले बताए।

प्रकाशित: २ कार्तिक २०८१ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =