जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता

हिमाल प्रेस २९ असोज २०८१ २१:४० | Tuesday, October 15, 2024
जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता

काठमाडौँ– अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनक्राँग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच मंगलबार दिउँसो जेनेभामा भेटवार्ता भएको हो।

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदानप्रदान र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यका विषयमा छलफल भएको थियो।

सो अवसरमा राष्ट्रियसभा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने बताए। दुई देशबीच राजनीतिक सम्बन्धमात्रै नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको अध्यक्ष दाहालले बताए।

सन् २०२२ मा चिनियाँ जनक्राँग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले दुई देशबीचका संसद्को सहकार्यले एक अर्काका अनुभव आदानप्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर पनि हुने बताउए।

नेपालको विकासमा चीनको सहयोग रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा अझै सहयोगको मात्रा बढ्ने आफूले विश्वास लिएको बताए।

दुई देशबीच आपसी हितका विषयमा क्षेत्रीय र बहुपक्षीय मञ्चमा सहकार्य भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहेको उल्लेख गरे।

सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष तियान सुइजनले चिनियाँ राष्ट्रिय जनक्राँग्रेस र नेपालको संसद्सँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूहमार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताए।

दुई देशका संसद्बीचको सहकार्य, भ्रमण आदानप्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुई देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने उनले बताए।

चीनले नेपाललाई आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सहयोग गर्न कुनै कसर बाँकी नराख्ने भन्दै उपाध्यक्ष थ्यानले बिआरआइमार्फत् सडक, रेल्वे लगायतका पूर्वाधार विकासका योजनामा सहयोग गर्न चाहेको उल्लेख गरे। भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रकाशित: २९ असोज २०८१ २१:४० | Tuesday, October 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast