जनकपुरमा आज ‘रावणवध’

हिमाल प्रेस २६ असोज २०८१ १२:०९
10
SHARES
जनकपुरमा आज ‘रावणवध’ फाइल तस्बिर

काठमाडौँ- विजय दशमीको अन्तिम दिन शनिबार जनकपुरधाममा रावणवध कार्यक्रम आयोजना हुने भएको छ।

असत्यमाथि सत्यको विजय भएको दिन विजया दशमीको अवसर पारेर हरेक वर्ष झैँ यसपालि पनि रावणवध कार्यक्रम आयोजना हुन लागेको हो।

दसैँको अवसरमा राजदेवी मन्दिरमा पूजाआजाको आयोजना गर्दै आएको स्थानीय महावीर युवा कमिटीले साँझ साढे ६ बजे रावणवध कार्यक्रम राखिएको जनाएको छ।

महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार साहले साँझ साढे ६ बजे धनुषसागरको पूर्वी डिलमा रावणवध कार्यक्रम राखिएको जानकारी दिए। रावणको प्रतिकात्मक प्रतिमा तयार पारी फटका प्रयोग गरेर रावणवध गरिने उनले बताए।

अध्यक्ष साहले राम मन्दिरका मूल पूजारी महन्त राम गिरीको हातबाट रावणवध गर्ने कार्यक्रम तय भएको जानकारी दिए।

विजय दशमीको अन्तिम दिन पछिल्लो केही वर्षदेखि महावीर युवा कमिटीले जनकपुरधाममा रावणवध कार्यक्रम गर्दै आएको छ। धनुषसागर पोखरीको पूर्वी डिलमा रावणस्वरूपी प्रतिमा निर्माण गरी विभिन्नखाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गर्ने गरिन्छ।

साँझको समयमा हुने रावणवध कार्यक्रम हेर्नका लागि सयौँको संख्यामा सर्वसाधारण उपस्थित हुने गर्दछन्।

महावीर युवा कमिटीले विजय दशमीको अवसरमा रावणवध कार्यक्रम गर्ने गरे पनि यसको आलोचनासमेत हुने गरेको छ। त्रेता युगमा भगवान रामले रावणको बध गरेको र उनी अयोध्याका भएकाले मिथिला क्षेत्र जनकपुरधाममा यो कार्यक्रम गर्न नहुने धेरैको भनाइ छ।

यसअघि भारतको विभिन्न स्थानमा रावणवध कार्यक्रम हुने गरेको भए पनि जनकपुरधाममा यसको सुरूवात केही समयअघि मात्र भएको हो।

तर, महावीर युवा कमिटीका पदाधिकारीहरू असत्यमाथि सत्यको जितका अवसर पारेर रावणवध हुने भएकाले यसलाई भौगोलिक सीमाका आधारमा छुट्याउन नहुने तर्क गर्छन्।

त्रेता युगमा १४ वर्षको वनवासपछि भगवान रामले लंकापति रावणको वध गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। यही अवसर पारेर पछिल्लो समय जनकपुरधामसहित नेपालका विभिन्न स्थानमा विजय दशमीका दिन रावणवध कार्यक्रम हुँदै आएको छ।

प्रकाशित: २६ असोज २०८१ १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast